.jpg)
काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्ष सबै नेपालीको बैंक खाता खोल्ने अभियान चलाउने भएको छ। राष्ट्र बैंकका अनुसार, अहिले बैंक तथा वित्तीय संस्थामार्फत २ करोड २५ लाख वटा खाता खोलिएका छन्। यसमध्ये कतिपय दोहोरिएका पनि छन्।
सबै नेपालीको खाता खोल्नका लागि राष्ट्र बैंकले सरोकारवाला सबै निकायसँग समन्वय गरी प्रभावकारी काम गर्न छ। मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले खाता खोल्ने योजना बारे पनि प्रष्ट्याएका छन्।
माध्यमिक विद्यालय तथा विश्विवद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई बैंक खाता खोल्न प्रोत्साहित गरिने छ। राष्ट्र बैंकले यसका लागि वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने छ।
बैंकिङ पहुँचलाई थप सरल र सहज बनाउन राष्ट्र बैंकले शाखा खोल्ने नीतिलाई समेत सरल बनाएको छ। अब महानगर र उपमहानगरपालिका वाहेक क्षेत्रमा शाखा खोल्नु परे राष्ट्र बैंकसँग स्वीकृति लिनु पर्दैन। यसले गर्दा काठमाडौं उपत्यकाभित्र आउन चाहने बैंक तथा वित्तीय संस्थाहरुलाई पनि थप हसज भएको छ।
राष्ट्र बैंकले सातै वटा प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्न बैंकहरुलाई अनिवार्य गरेको छ। 'यस ब्यवस्थाबाट सबै प्रदेशहरुमा बैंकिङ सेवा प्रवाह सरल र प्रभावकारी हुनुका साथै वित्तीय पहुँच र समावेशिता विस्तारमा समेत सहयोग पुग्ने छ' गभर्नर नेपालले भने।










