क्रस बोर्डर रेल सुरु गर्न नेपाल र भारतबीच छलफल, रक्सौलको रेल कहिले आइपुग्ला काठमाडौं!



बिजमाण्डू
२०७५ असार २६ गते ११:५७ | Jul 10, 2018

Tata
GBIME
Nepal Life

नेपाल भारत क्रस बोर्डर रेल सेवा सञ्चालन सम्बन्धी नेपाल-भारत संयुक्त वर्किङ कमिटी(पिएससी)को बैठक काठमाडौंमा जारी छ।

सोमबारदेखि सुरु भएको बैठकमा भारतका तर्फबाट परारष्ट्र मन्त्रालयका सहसचिव नामग्या खाम्पा र नेपालका तर्फबाट भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका वैदेशिक सहायता महाशाखा हेर्ने सहसचिव केशरकुमार शर्मासहितका अधिकारीहरु सहभागी छन्।

गत चैतमा  प्रधानमन्त्री केपी शर्मा ओलीको  भारत भ्रमणका क्रममा नेपालको राजधानी शहर काठमाडौं र भारतीय सिमावर्ती शहर रक्सौल जोड्ने रेलमार्ग भारतीय आर्थिक र प्राविधिक सहयोगमा निर्माण गर्ने सम्झौता भएको थियो।

सोही समय दुवै देशका प्रधानमन्त्रीका बीचमा नेपालसंग परामर्श गरेर भारतले एक बर्षभित्र यो रेलमार्गको सर्भे गर्ने सम्झौता भएको थियो।

थप अध्ययन र विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) र मोडालिटी दुबै पक्ष बसेर टुङ्गो लगाउने निर्णय भएको थियो।

संयुक्त वर्किङ कमिटीको बैठकमा रक्सौल-काठमाडौं रेल परियोजना अघि बढाउने विषयमा छलफल गर्ने तयारी भएको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिए।

नेपाल भारत सीमाक्षेत्रलार्इ रेलमार्गले जोड्ने उदेश्य राखेर निर्माण गर्ने भनिएका पाँचवटा रेलवे लिङ्कमध्ये दुर्इवटा रेलवे लिंक सञ्चालन गर्ने विषयमा पनि टुङ्गो लाग्ने बताइएको छ।

जनकपुर-जयनगर  र बथनाहा(जोगवनी)विराटनगर रेलवे सञ्चालन विषयमा छलफल गरेर टुङगो लगाउने  रेल विभागले जनाएको छ।

जयनगर-जनकपुर रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेकाले यो रेलमार्गमा रेल सञ्चालन गर्ने विषयमा समेत छलफल हुने विभागका सिडिर्इ उपाध्यायले जानकारी दिए।६९ किलोमिटर लामो यो रेलमार्ग आगामी असोजसम्म तयार हुने विभागको दाबी छ। बजेट मार्फत सरकारले ५० करोड रुपैयाँ रेलको डिब्बा र इन्जिन खरिदका लागि छुट्याइसकेको छ।

रेल अर्डर गर्नुपर्ने र खरिद प्रक्रिया समय लाग्ने भएकाले तत्कालका लागि भाडामा भारतीय रेल चलाउने विषयमा समेत छलफल गरिने विभागले जनाएको छ। त्यसैगरी जोगवनीबाट विराटनगरसम्म रेल सञ्चालन गर्ने विषय समेत टुङग्याइने विभागले जनाएको छ।

यो संयुक्त वर्किङ कमिटिको बैठक प्रत्येक ६/६ महिनामा बस्ने गर्छ।यस अघि उक्त कमिटीको बैठक नयाँ दिल्लीमा बसेको थियो।