
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टले सरकारले प्रतिबन्ध लगाउनुअघि मलेसिया जाने प्रक्रियामा गइसकेका हकमा उपयुक्त निर्णय लिइने बताएका छन्। मन्त्री बिष्टलाई भेट्न पुगेका म्यानपावर व्यवसायी र विभिन्न संघ संगठनका प्रतिनिधिलाई उनले विवरण ल्याउन पनि आग्रह गरे।
'मलेसियामा नेपाली कामदार पठाउने सन्दर्भमा अनधिकृत पैसा उठाउँदै आएका विभिन्न संस्था खारेज गरेकाले ती संस्थामा फेरि ठोक्किने गरी कामदारलाई पठाइँदैन,' मन्त्री बिष्टले भने, 'ती संस्था फेरि ब्युँतने कुनै गुञ्जायस छैन। यो विषयमा लचकता हुँदैन। मन्त्रालयले निर्णय गर्नु पूर्व नै सबै प्रक्रिया पूरा गरी अन्तिम स्वीकृति मात्रै बाँकी रहेकाहरुको हकमा विवरण ल्याउनुस्। अध्ययन गरी उपयुक्त निर्णय लिइनेछ।'
मलेसिया जाने श्रमिकमाथि ठगी गर्नेहरुलाई सरकारले आवश्यक कारबाही गर्ने भन्दै ती विषयमाथि छानबिन जारी रहेको पनि बताए। उनले सरकारले कारबाही गरेरै छाड्ने भएकाले प्रमाण संकलन गरी अनुसन्धानको काम अघि बढाइरहेको उल्लेख गरे।
मलेसियामा कामदार पठाउने विषयमा कुटनीतिक पहल निरन्तर भइरहेको पनि उनले व्यवसायीलाई जानकारी गराएका छन्। 'परराष्ट्र मन्त्रालयमार्फत महत्वका साथ पहल भैरहेको छ। कुटनीतिक पहल दैनिक वक्तव्यबाजी गर्ने विषय हैन,' उनले भने, 'मलेसिया रोजगारी अब नयाँ ढंगले नेपाली कामदारलाई थप आर्थिक भार नपर्ने गरी सुरक्षित हिसाबले मात्रै खोलिनेछ। निकै सकारात्मक कुराकानी भैरहेको छ।'
म्यानपावर व्यवसायीले दायराभित्र बसेर काम गर्नुपर्नेमा पनि उनले जोड दिए। यो पेसालाई व्यवस्थित, मर्यादित र सम्मानित बनाउन आफू लागेको भन्दै उनले कुनै सुधार नभएको पनि बताए। 'म फेरि पनि भन्छु सुध्रनुस। नत्र कारबाही हुन्छ,' उनले भने।
म्यानपावर व्यवसायीले तिर्नुपर्ने धरौटी रकम बढाइने पनि उनले बताएका छन्। धरौटी बढाउने र मापदण्ड परिमार्जन गर्ने तयारीमा आफू रहेको उनले बताए। 'संख्या यति नै भन्ने होइन, तर राज्यले निर्धारण गर्ने मापदण्डमा अटाउनेहरु मात्रै व्यवसायका लागि योग्य हुनेछन्,' उनले भने।










