
काठमाडौं। २५ वर्षअघि १२ करोड रुपैयाँ चुक्ता पुँजीसहित स्थापना भएको नेपाल एसबिआई बैंकले शनिबार रजत जयन्ती मनाएको छ। यतिबेला बैंकको चुक्त पुँजी ८ अर्ब ५ करोड रुपैयाँ छ। जुन नेपाल राष्ट्र बैंकले निर्धारण गरेको न्यूनतम सीमाभन्दा धेरै हो।
बैंकले सन् २०२० सम्ममा १ सयवटा शाखा र मुख्य ५ वटा शहरमा स्मार्ट शाखाहरु खोल्ने योजना बनाएको छ। भारतको नयाँ दिल्लीमा प्रतिनिधि कार्यालय खोल्ने योजना पनि बैंकले बनाएको छ। बैंकले रजत जयन्तीका अवसमार तीन वटा शाखा विस्तार गरेको छ।
बैंकले ८४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ७४ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। १ सय २३ जना ग्राहकबाट सुरु भएको बैंकको सेवा अहिले ८ लाख ग्राहकसम्म फैलिएको बैंकका अध्यक्ष सुजितकुमार बर्माले जानकारी दिए। राष्ट्र बैंकबाट बि. स. २०५० असार २२ गते लाइसेन्स पाएको बैंकले फागुन १९ गते प्राथमिक शेयर निष्कासन गरी २०५१ असार ९ गते बाँडफाँड गरेको थियो।

बैंकले अहिलेसम्म ४ अर्ब ५४ करोड रुपैयाँ कर तिरेको र प्रत्यक्ष रुपमा झण्डै ९०० नेपालीहरुलार्इ रोजगारी प्रदान गरेको बर्माले बताए। यो अवधिमा औसत १८ प्रतिशतभन्दा धेरै लाभांश वितरण गरिरहेको पनि उनले जानकारी दिए।
बैंकले केही ग्रामीण क्षेत्रमा डिजिटल प्रणाली प्रयोग गर्दै क्यासलेस बैंकिङ अभ्यास गर्दे आएको जनाएको छ। बैंकले काठमाडौंको जर्सिङपौवाको व्यापारिक क्षेत्रमा सोलार प्यानल जडान गर्नुकासाथै प्राथमिक स्वास्थ कार्यक्रमकालागि एम्बुलेन्स लगायतका विभिन्न सहयोग गरेको बर्माले जानकारी दिए।
बैंकले 'नेपाल विजनेस एक्सिलेन्स अवार्ड २०१७', 'इन्ड्रस्ट्रियल पिस अवार्ड' र 'भिजा एक्सिलेन्स अवार्ड २०१७' पिनि पाएको जनाएको छ।










