विराटनगर।विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७४/०७५को असार मसान्त सकिनुभन्दा दुई हप्ता अगाडि नै राजस्वको लक्ष्य हासिल गरेको छ ।
कार्यालयले चालु आर्थिक वर्षको कुल लक्ष्य ३१ अर्ब २४ करोड ४८ लाख रहेकोमा असार २० गते भित्र ३१ अर्ब ४९ करोड ४२ लाख सङ्कलन गरेर लक्ष्यका तुलनामा १ सय ७ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ ।देशका अन्य मुख्य भन्सार कार्यालयले वार्षिक राजस्वको लक्ष्य नभेटिरहेका बेला विराटनगर कार्यालयले असार मसान्तभन्दा दुई हप्ताअगाडि नै बाजी मारेको हो ।
कार्यालयले गत आर्थिक वर्ष २०७३–०७४ मा राजस्वको लक्ष्य हासिल गर्न सकेको थिएन । उक्त आवमा २५ अर्ब ८० करोड ४० लाखको लक्ष्यमा कार्यालयले २४ अर्ब ८४ करोड ९९ लाख असुली गरेको थियो । तर साउन लागेपछि विभागले विराटनगर भन्सारको लक्ष्य संशोधन गर्दै १ अर्ब ५० करोड घटाइदिएको थियो । यसरी संशोधन गरेर २४ अर्ब ३० करोड बनाएपछि कार्यालयले २४ अर्ब ८४ करोड ९९ लाख असुल गरेको हुँदा लक्ष्य पूरा भएको जिकिर गरेको थियो ।
चालु आर्थिक वर्षमा भने लक्ष्य संशोधन र समायोजन केही नगरी लक्ष्य हासिल भएको कार्यालयको दाबी छ । बाढीका कारण मीरगञ्जको पुल भत्किएर चालु आवको गत साउन २८ देखि जेठ महिनासम्म पैठारीमा समस्या उत्पन्न भएको थियो । पुल भत्किएका कारण रिरुट गराएर सेतुबन्ध–कोशी ब्यारेज नाकाबाट पैठारी गर्नुपर्दा १ सय १० किलोमिटर बाटो लम्बिएको थियो । व्यवसायीले रिरुटमा प्रशस्त झन्झट थपिएको बताउँदै आएका थिए ।
कार्यालयले चालु आर्थिक वर्षको असार २० सम्ममा भन्सार महसुलतर्फ १३ अर्ब २२ करोड, मूअकर १६ अर्ब ९० करोड र अन्तःशुल्क १ अर्ब ३७ करोड ६० लाख सङ्कलन गरेको छ ।गत आर्थिक वर्षमा विराटनगर भन्सारको राजस्व सङ्कलनमा सबैभन्दा बढी योगदान मोटर साइकलले गरेको भए पनि चालु आवमा हाई स्पिड डिजलले गरेको छ ।
चालु आवको जेठ मसान्त सम्ममा जेठ सम्ममा हाई स्पिड डिजलको पैठारीबाट २ अर्ब ७ करोड असुली भएको छ । गत आर्थिक वर्षमा राजस्व योगदानमा पहिलो हुने मोटर साइकल चालु आवमा तेस्रो भएको छ । चालु आवमा हाई स्पिड डिजलपछि चिनीले सबैभन्दा बढी राजस्व दिएको छ ।
विराटनगर भन्सारलाई मूलतः औद्योगिक कच्चा पदार्थ पैठारी गर्ने नाकाका रूपमा चिनिन्छ । मोरङ र सुनसरीस्थित उद्योगका लागि यही नाकाबाट कच्चा पदार्थ भित्र्याइन्छ । औद्योगिक कच्चा पदार्थ भित्र्याउने नाका भए पनि चालु आर्थिक वर्षको भन्सार कार्यालयको राजस्वमा व्यापारिक उद्देश्यले मगाइएको चिनीले दोस्रो योगदान गरेको हो ।
चालु आवको जेठ मसान्तसम्ममा कार्यालयले चिनीबाट १ अर्ब ३३ करोड ७९ लाख सङ्कलन गरेको छ । जेठ मसान्त सम्ममा ३ अर्ब ५० करोड मूल्यको ७६९१६ मेट्रिक टन चिनी पैठारी भएको तथ्याङ्क कार्यालयले उपलब्ध गराएको छ ।
अघिल्लो आर्थिक वर्षमा चिनीको पैठारी अत्यन्त न्यून थियो । उक्त आवमा कार्यालयले चिनीबाट ३५ लाख ६७ हजार मात्र राजस्व असुली गरेको थियो । गत आवमा १ करोड ४५ लाख मूल्यको २२४ मेट्रिक टन चिनी पैठारी गरिएको देखिन्छ ।
कार्यालयका अनुसार चिनीपछि मोटर साइकलबाट १ अर्ब ३२ करोड ७० लाख, सिआर सिटबाट १ अर्ब १९ करोड, पेट्रोलबाट १ अर्ब १८ करोड, एमएस बिलेटबाट १ अर्ब ११ करोड असुली भएको छ ।










