
काठमाडौं। काठमाडौंको बिजुलीबजारमा निर्माणाधीन नेटवर्क आर्क ब्रिज आगामी भदौसम्ममा तयार हुने भएको छ।
भदौसम्ममा आर्क व्रिज तयार हुने निश्चित भएसंगै असोजबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने उपत्यका सडक विस्तार आयोजनाका सिनियर डिभिजनल इन्जिनियर विश्वविजयलाल श्रेष्ठले जानकारी दिए।
‘स्ल्याबको ढलान सकेर अहिले माथि आर्कमा ढलान गर्नका लागि धमाधम काम भैरहेको छ।केहि दिनमै फर्मा तयार हुन्छ त्यसमा रड बाँधेपछि ढलान गर्न सकिन्छ,साउनसम्ममा आर्कको ढलान सकिन्छ’उनले भने।
आर्कको ढलान सकिएपछि ब्रिजको मुख्य काम सकिन्छ अरु वायर तन्काउने,आर्कमा लोड दिने, स्ल्याब बनाउने लगायतका टेक्निकल र अन्य मसिना कामहरु बाँकी रहने सिडिर्इ श्रेष्ठले जानकारी दिए।
पुलसम्म गाडी गुडाउनकालागि एप्रोच स्ल्याब बनाउने लगायतका सबै काम भदौ मसान्तसम्म सक्ने आयोजनाको लक्ष्य रहेको छ। त्यसपछि तीन साता जति सेटिङकालागि छोडिने र सवारीसाधनका लागि खुला गरिने श्रेष्ठले बताए।
‘भदौसम्ममा ब्रिज तयार हुन्छ, असोज २०/२१ देखि हामी सवारीसाधनकालागि आर्क ब्रिज खुला गर्ने तयारीका साथ काम गरिरहेका छौं’यो ब्रिजमा सवारीसाधन सञ्चालन भएपछि यसको समानान्तरमा यस्तै अर्को आर्क ब्रिज निर्माण थालिने आयोजनाले जनाएको छ। अहिले पुलको करिव ६० प्रतिशत काम सकिएको आयोजनाको दाबी छ।

२०७१ पुसमा २०७४ माघमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। ब्रिज निर्माण गर्ने क्रममा खानेपानी, बिजुली, ढल लगायतका युटिलिटिज हटाउन समस्या भएपछि ढिलार्इ भएको हो।
ठेक्का लगाउद डिजाइन एण्ड बिल्ड प्रक्रियाबाट ठेक्का लगार्इएको थियो।यस्तो ठेक्का निर्माण व्यवसायीले आफैंले डिजाइन बनाएर निर्माणको काम गर्नुपर्ने हुन्छ।
नेपाली निर्माण व्यवसायीले पहिलो पहिलोपटक नेपालमा नेटवर्क आर्क ब्रिज बनाउन लागेकाले विदेशी एक्सपर्ट हायर गरेर पुलको डिजाइन गराएका कारण केही ढिलार्इ भएको आयोजनाको भनार्इ छ।
डिजाइन गरिसकेपछि पनि प्राविधिक समस्या देखिएकाले परिर्वतन गर्नुपर्दा थप समय लागेको हो। उपत्यका सडक बिस्तार आयोजना अन्तर्गत निर्माण भैरहेको यो ब्रिज निर्माणको जिम्मा जेर्इ कन्स्ट्रक्सन पाएको छ।
.jpg)
त्यसैगरी तिनकुनेमा पनि दुईवटा आर्क ब्रिज निर्माण गर्न लागिएको छ। तिनकुनेको पुलको प्रगति अत्यन्त सुस्त छ। पप्पु कन्स्ट्रक्सनले जिम्मा पाएको तिनकुनेको पुल हालसम्म निर्माण सम्पन्न भैसक्नुपर्नेमा २५ प्रतिशत काम पनि नभएको आयोजनाले जनाएको छ।
नेटवर्क आर्क ब्रिज नयाँ प्रविधिमा आधारित पुल हो।यसको माथिल्लो तह अर्धवृत्ताकार हुन्छ। बीचमा बलिया तार र बिम जडान गरिन्छ। नेटवर्क तारले पुलको भारवहन क्षमतालार्इ सन्तुलनमा ल्याउने गर्दछ।
यस्तो पुलले शहरी सुन्दरता कायम राख्नमा समेत सहयोग पुग्छ भने थरिथरिका बत्तीहरु जडान गरेर बालिने भएका रातमा समेत जीवन्त देखिन्छ।










