काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले समयमै पुरा हुने जुनसुकै किसिमका विकास आयोजनालाई बजेट अभाव नहुने बताएका छन्। तीन तहका मध्ये जुनसुकै तहको सरकारले अघि बढाएको भए पनि समयमै पुरा हुने आयोजनालाई रकम अभाव हुन नदिने बताएका हुन् नदिने बताएका हुन्।
प्रतिनिधिसभाको विहीबारको बैठकमा नेकपाका सांसद खगराज अधिकारीले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव र त्यसमाथि उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री खतिवडाले स्थानीय र प्रदेश तहको क्षमता विकास र संवैधानिक क्षेत्राधिकार भित्रका आयोजनासँगै हस्तान्तरण गरिने जानकारी दिए।
व्यवहारिक र प्राविधिक रुपमा कार्यान्वयन गर्न कठिन हुने आयोजना केन्द्र सरकराले नै कार्यान्वयन गराउने पनि खतिवडाले बताएका छन्।
प्रदेश र स्थानीय तहले कुनै कार्यक्रम कार्यान्वयन गर्न नसक्ने जानकारी संघीय सरकारलाई दिए त्यस्ता कार्यक्रम संघीय सरकारले कार्यान्वयन गराउने पनि उनले बताए। त्यस्तै कुनै कार्यक्रम तल्ला तहले माग गरे उनीहरुलाई नै कार्यान्वयन गर्न दिन सकिने पनि उनले जानकारी दिए।
असिमित आयोजना सिमित स्रोतको बिचमा मुलुक रहेको भन्दै हरेक वर्ष धेरै आयोजना थप्ने तर स्रोत परिचालन गर्न नसक्ने अवस्था रहेको पनि उनले बताएका छन्। 'गरिएका काम पनि समयमा राम्रोसँग पुरा नहुने अवस्था छ,' उनले भने, 'यस्तो अवस्थामा सयौँका संख्यामा सडक पुल हामीले गर्ने हो भने साधन स्रोतको अभाव भएको यथार्थलाई बिर्सनु हुँदैन।'










