
काठमाडौं। बाबा गोकर्णेश्वर यातायातले थप रुटमा सेवा विस्तार गर्ने भएको छ। विहीबारबाट जोरपाटी-चाबहिल-गौशला-रत्नपार्क-कालीमाटी-कलंकी रुटमा सेवा विस्तार गर्न लागिएको कम्पनीका सचिव रोशनबाबु श्रेष्ठले जानकारी दिए।
सचिव श्रेष्ठका अनुसार अहिले कम्पनीका ५० वटा ठुला आरामदायी बसहरुले गोकर्णेश्वर नगरपालिकाको माकलबारीबाट नारायणटार-जोरपाटी-बौद्ध-चाबहिल हुँदै चक्रपथ परिक्रमा गरिरहेका छन्।
सोही रुटका २० वटा बसलार्इ विहीबारदेखि माकलबारी-जोरपाटी-बौद्ध-हुँदै पहिलेकै रुटमा चाबहिलबाट गौशला -गौशलाबाट-पुरानो बानेश्वर-मैतीदेवी-पुतलीसडक-शहिदगेट-त्रिपुरेश्वर-कालीमाटी हुँदै कलकींसम्म पुग्नेछन्। ती बस सोही रुट हुँदै फिर्ता हुने श्रेष्ठले जानकारी दिए।
सेवा विस्तार गर्नका लागि ३० वटा ठुला बस ल्याउन लागिएको कम्पनीले जनाएको छ। कम्पनीका सचिव श्रेष्ठका अनुसार ३० वटा नयाँ बस २ महिनाभित्रै कम्पनीको कार्यालयमा आइपुग्नेछन्। बसहरु आएपछि व्यवस्थापन गरेर सञ्चालन गरिने कम्पनीले जनाएको छ।
पछिल्लो समय रत्नपार्कको रुटमा पनि बस चलाउनका लागि यात्रुहरुले पटक पटक माग गरेपछि विहीबारबाट सेवा शुभारम्भ गर्न लागिएको कम्पनीको भनाइ छ। सर्वसाधरणको यात्रालार्इ सहज बनाउन नयाँ रुट विस्तार गरिएको सचिव श्रेष्ठले दाबी गरेका छन्।
विहान ५ बजेदेखि वेलुकी ९ बजेसम्म बस सेवा सञ्चालन गरिरहेको बाबा गोकर्णेश्वर यातायात सिन्डिकेट खारेज भएपछि पञ्जीकृत भएको सबैभन्दा ठुलो बस हो। विगत १० वर्षदेखि साना ग्यासबाट चल्ने निलो माइक्रोको पहिलोपटक सिन्डिकेट तोडेर ठुला बस सञ्चालनमा ल्याएको थियो।










