तामाकोशी पाचौँ जलविद्युत आयोजनामा १५ अर्ब लगानी गर्न एआइआइबीसमक्ष अर्थमन्त्रीको प्रस्ताव



बिजमाण्डू
२०७५ असार १३ गते १५:५४ | Jun 27, 2018
तामाकोशी पाचौँ जलविद्युत आयोजनामा १५ अर्ब लगानी गर्न एआइआइबीसमक्ष अर्थमन्त्रीको प्रस्ताव
फाइल फोटो

काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले १०१ मेगावाट क्षमताको तामाकोशी पाचौँ जलविद्युत आयोजनाको निर्माणमा सघाउन एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)समक्ष अनुरोध गरेका छन्। तेस्रो गभर्नर्स बैठकमा भाग लिन भारतको मुम्बई गएका खतिवडाले एआइआइबीका अध्यक्ष जिन लिकनसँग भेट गर्दै यो आयोजनामा सहयोगका लागि आग्रह गरेका हुन्। 
 
तामाकोशी पाचौँ जलविद्युत आयोजनाको निर्माणका लागि १५ अर्ब रुपैयाँ आवस्यक पर्ने भन्दै खतिवडाले ती आयोजना अघि बढाउन सहयोग मागेका हुन्। 
 
छलफलमा बैंकका अध्यक्ष जिनले यो आयोजनामा लगानी गर्ने विषयमा अध्ययन गर्ने र संभाव्य देखिए तुरुन्तै लगानीको निर्णय लिइने आश्वासन दिएका अर्थ मन्त्रालयले जनाएको छ। 
 
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको 'क्यास्केड प्रोजेक्ट' का रुपमा तामाकोशी पाचौँ जलविद्युत आयोजना अघि बढाउन लागिएको हो। जर्मन परामर्शदाता कम्पनी ल्हामेहरले विस्तृत इन्जिनियरिङ र ड्रइङको काम गरिरहेको छ। यस्तै आयोजनाको ठेक्कासम्बन्धि कागजपत्र बनाउने जिम्मा पनि उसैलाई दिइएको छ। 
 
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट विद्युत उत्पादनपछि निस्केको पानी तामाकोशी नदीमा नपठाई यो आयोजना निर्माणको तयारी गरिएको हो। तामाकोशी जलविद्युत आयोजना निर्माण सक्नुअघि नै यो आयोजनाका लागि पानी 'ट्राप' निर्माणको संरचना निर्माणको निर्णय प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेका थिए। 
 
आयोजनाका लागि पानी 'ट्राप' गर्ने संयन्त्रको निर्माणमा ढिलाई हुँदा तामाकोशीको उत्पादन नै रोक्नुपर्ने अवस्था आउने भएकाले समयमै निर्णय गरेर काम अघि बढाइएको हो।
 
छलफलका क्रममा अर्थमन्त्री खतिवडाले नेपालमा रेलमार्ग, द्रुतमार्ग, पर्यटकीय पूर्वाधार र जलविद्युत जस्ता ठुला आयोजनामा लगानी आवस्यक रहेकाले लगानी गर्न बैंकलाई आग्रह गरेका छन्। 
 
गभर्नर्स बैठकमा मध्य र पश्चिम नेपालको विद्यतु वितरण प्रणाली सधुार गर्ने उद्देश्यले आयोजना प्रस्ताव तयार गर्ने प्रयोजनका लागि १० लाख अमेरिकी डलर बराबरको प्राविधिक सहायता सम्झौतामा बैंक र नेपाल सरकारबीच हस्ताक्षर भएको छ।
 
गभर्नर्स बैठकका अवसरमा भारत गएका राजस्व सचिव शिशिरकुमार ढुंगानाले बैंकका उपाध्यक्ष डिजे पाण्डियनसँग भेट गरेका छन्।

Tata
GBIME
Nepal Life