डडेलधुरामा बनेको स्याउले सब स्टेशन संचालनमा, पहाडी जिल्लामा विद्युत आपूर्ती सहज



बिजमाण्डू
२०७५ असार १३ गते १३:५५ | Jun 27, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। डडेलधुराको स्याउलेमा निर्माण गरिएको १३२/३३ केभी सव स्टेशन मंगलबारदेखि सञ्चालनमा आएको छ।

७ नम्बर प्रदेशका पहाडी जिल्लामा विद्युत आपूर्तिलाई नियमित र भरपर्दो बनाउन डडेलधुराको स्याउलेमा उक्त सव स्टेशन निर्माण गरिएको हो।

सव स्टेशनलाई मंगलबारबाट चार्ज गरिएको छ। अब ७ नम्बर प्रदेशका पहाडी जिल्लामा आगामी दिनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत त्यही सव स्टेशन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गराउन पनि त्यहि पूर्वाधारको प्रयोग गरिनेछ।

सब स्टेशन सञ्चालनमा आएपछि दार्चुलास्थित ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको विद्युत स्याउलेबाटै डडेल्धुरा, दार्जुला,डोटी, वैतडी र अछाममा बितरण हुने छ।

नेपाल विद्युत प्राधिकरणले अहिले चमेलियाको विद्युत दार्चुलाको बलाँचबाट १३१ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत कैलालीको अत्तरिया पूर्‍याएर फेरि ३३ केभी प्रसारण लाइनमार्फत पहाडी जिल्लामा आपूर्ति गर्दै आएको थियो।

‘अब चमेलियाको विद्युत स्याउले सब स्टेशनबाट ७ नम्बर प्रदेशका पहाडी जिल्लामा आपूर्ति हुने र  लामो प्रसारण प्रणालीले गर्दा भइरहेको प्राविधिक चुहावटमा कमी आउने छ।’ आयोजना प्रमुख रमेशप्रसाद पौडेलले भने, ‘ यसबाट त्यस क्षेत्रको वितरण प्रणाली सुदृढ भई विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय हुने छ।’

प्राधिकरणले चमेलिया सञ्चालनमा आउनुभन्दा पहिले पनि अत्तरियाबाटै ३३ केभी प्रसारण लाइनमार्फत ७ नम्बर प्रदेशका पहाडी जिल्लामा विद्युत आपूर्ति गर्दै आएको थियो।

अत्तरिया–डडेलधुरा–दिपायल ३३ केभी प्रसारण लाइनमार्फत डडेलधुरा र डोटीको दिपायलमा भएका ३३/११ केभीका सव स्टेशनमार्फत विद्युतलाई ११ केभीमा परिणत गरी वितरण हुँदै आएको थियो।

प्राधिकरणले डडेलधुराबाट बैतडी हुँदै दार्चुलासम्म र डडेलधुराबाट दिपायल हुँदै अछामसम्म विद्युत आपूर्ति गर्दै आएको छ। अव ती क्षेत्रमा चमेलियाको विद्युत स्याउले सब स्टेशनमार्फत आपूर्ति हुने छ।

३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा प्रसारण चुहावट बढी हुने र ‘भोल्टेज ड्रप’ हुने समस्या थियो। यी सबै समस्याको समाधान गर्न चमेलिया–अत्तरिया १३२ केभी प्रसारण लाइन मूनी पर्ने स्याउलेमा सब स्टेशन निर्माण गरी सञ्चालनमा ल्याइएको हो।

सव स्टेशनको निर्माण आर्थिक वर्ष ०७२/७३ मा सुरु गरिएको थियो। सव स्टेशनमा १३२/३३ केभीको एउटा पावर ट्रान्सफर्मर र ३३/११ केभीको एउटा वितरण ट्रान्सफर्मर राखिएको छ।