नेपाली सेनाले भन्यो, ‘समयमै काम सक्नुपर्नेछ, काम रोकेर हुँदैन,’ डिपिआर बनाउन कम्पनी कहिले?



बिजमाण्डू
२०७५ असार १२ गते १७:१२ | Jun 26, 2018
नेपाली सेनाले भन्यो, ‘समयमै काम सक्नुपर्नेछ, काम रोकेर हुँदैन,’ डिपिआर बनाउन कम्पनी कहिले?

Tata
GBIME
Nepal Life

काठमाडौं। काठमाडौं-तरार्इ-मधेश एक्सप्रेस वे आयोजनाको काम समयमै सम्पन्न गर्न नेपाली सेनाले वर्षामा पनि कामलाई निरन्तरता दिने भएको छ। आयोजनाको काम निर्धारित चार वर्षभित्रै पुरा गर्नुपर्ने भएकाले कामलाई निरन्तरता दिइने सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले जानकारी दिए। 
 

सेनाले अहिले विभिन्न १० स्थानमा शिविर बनाएर आयोजनाको काम अगाडि बढाइरहेको छ। मख्खुबेसी, कुलेखानी, लेनडाँडा, बुदुने र बागदेवमा स्थायी र अन्य पाँच ठाउमा अस्थायी शिविर खडा गरेर काम गरिरहेको भण्डारीले जानकारी दिए। 
 
सडकको रेखांकन गरिरहेको ठाउँमा माटो कटान गर्ने, बाहिरबाट ल्याएर पुर्ने तथा सम्याउने, परीक्षण गर्ने जस्ता कामहरु भैरहेको नेपाली सेनाले जनाएको छ। झण्डै १२ किलोमिटर खण्डमा पर्ने रुख कटान गरेर त्यसको व्यवस्थापन गरिसकेको भण्डारीले बताए। 
 
ललितपुरको खोकनाबाट सुरु भर्इ बाराको निजगढमा पुगेर पूर्व पश्चिम राजमार्गमा जोडिने आयोजनाको ट्रयाक पनि यसअघि सेनाले नै खनेको हो।
के के गर्दैछ सेना?
 
अहिले नेपाली सेनाले आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) विना नै काम गरिरहेको छ। एसियाली विकास बैंक(एडिबी)ले तयार पारेको संभाव्यता अध्ययन प्रतिवेदनका आधारमा काम गरिरहेको सेनाले जनाएको छ।
 
नेपाली सेनाले भारतीय कम्पनी आइएल एण्ड एफएसले तयार पारेको डिपिआर अधुरो र महँगो भन्दै नकिन्ने निर्णय गरिसकेको छ। त्यसपछि आफैँले डिपिआर बनाउने भन्दै सेनाले ग्लोवल टेण्डर आव्हान गरेको थियो।
 
सेना गरेको टेण्डरमा १७ वटा कम्पनीले आवेदन दिएका थिए। तिनीहरुको मूल्याङ्कन गरेर ६ वटा कम्पनीलार्इ छनौट सूचीमा राखिएको छ। स्विजरल्याण्ड, चीनको दुर्इवटा, भारत र जापानका कम्पनीहरु छनौट भएका छन्।
 
सेनाले ती कम्पनीबाट आर्थिक तथा प्राविधिक प्रतिवेदन माग गर्नेछ। त्यसका लागि ४५ दिनको समय दिइनेछ। कम्पनीले पेश गरेको विवरण विश्लेषण गरेर उत्कृष्ट कम्पनीलार्इ छनोट गरिने नेपानी सेनाले जनाएको छ। छनौट हुने कम्पनीले करिब ६ महिनामा डिपिआर तयार पारेर सेनालार्इ दिनेछ।
 
त्यसैगरी एक्सप्रेस वेमा ९९ वटा पुलहरु बन्नेछन्। जसमध्ये मकवानपुरको ठिगनमा बन्ने टनेलभन्दा पारीका ६२ वटा पुलका लागिसमेत सेनाले टेण्डर आव्हान गरिसकेको छ। सो टेण्डरमा १५ वटाँ कम्पनीले आवेदन दिएका छन्। उक्त कम्पनीहरुको प्रि क्वालिफिकेसन स्टडी भैरहेको सेनाले जनाएको छ।
 
एडिबीले संभाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख गरेको बाहेक अर्को पनि टनेल थप्नुपर्ने आवश्यकता सेनाले औँल्याएको छ। अहिले तीनवटा सुरुङमार्ग बनाउने कि भन्ने विषयमा छलफल भैरहेको भण्डारीले जानकारी दिए। यद्यपि अन्तिम निर्णय भने भइसकेको छैन।
 
टनेल बनाउन सके एक्सप्रेस वेको दुरीसमेत छोटिनेछ। चारवर्षभित्र सम्पन्न गर्ने गरि नेपाल सरकारले अघिल्लो वर्ष वैशाखमा आयोजनाको जिम्मा सेनालाई दिएको थियो।