चावहिल-सुन्दरीजलको सडक अब बन्ला? ठेकेदारबिरुद्ध गृहमन्त्रीसँग स्थानीयको गुहार



रासस
२०७५ असार १२ गते १०:१२ | Jun 26, 2018
काठमाडौँ। चावहिल–बौद्ध–जोरपाटी–साँखु र सुन्दरीजलको सडक बिस्तारका लागि ठेक्का भएको वर्षौँ बित्दासमेत काम सम्पन्न नभएपछि समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाहीको माग गरिएको छ।
 
समता मानव अधिकार तथा नागरिक समाजले गृहमन्त्री रामबहादुर थापालाई बुझाएको ज्ञापनपत्रमा छिटो सडक बिस्तार नगर्दा वर्षामा पानीको दह जमी सवारी एवं पैदल यात्रुको आवागमनमा पनि असहज भएको उल्लेख छ। घाम लागेका बेला धुलोले सडकमा हिँड्न नसकिने ज्ञापनपत्रमा उल्लेख छ।
 
यसले गर्दा मानव स्वास्थ्यमा समेत गम्भीर असर पुगेको समाजले जनाएको छ। ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले सडक विस्तारका विषयमा अध्ययन गरी निर्माण व्यवसायी दोषी देखिए कारबाही गर्ने प्रतिबद्धता जनाए।
 
ज्ञापनपत्रमा केही घर अझै नभत्किएको, विद्युत्, टेलिफोन र केवलको तार नहटाइएकाले छिटोभन्दा छिटो साइड क्लियर गरी बिस्तारको व्यवस्था मिलाउन माग गरिएको समाजका अध्यक्ष नोर्साङ शेर्पाले राससलाई जानकारी दिए।
 
तीन खण्डमा ठेक्का दिई यो सडक बिस्तारको काम भइरहेको काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले जनाएको छ। तीनै खण्डका निर्माण व्यवसायीको समय सकिएकाले म्याद थप गरिएको आयोजना प्रमुख दीपक केसीले जानकारी दिए। 
 
साइड क्लियर गर्न अदालतमा मुद्दा परी अन्तरिम आदेश भएकाले काममा बाधा पुगेको उनले बताए।

Tata
GBIME
Nepal Life