चितवन घुम्न जाने पर्यटकको संख्यामा वृद्धि,११ महिनामा ९४ हजार विदेशी पुगे चितवन, राजस्व बढ्याे



बिजमाण्डू
२०७५ असार ११ गते १८:२६ | Jun 25, 2018
चितवन घुम्न जाने पर्यटकको संख्यामा वृद्धि,११ महिनामा ९४ हजार विदेशी पुगे चितवन, राजस्व बढ्याे

चितवन। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा प्रवेश गर्ने पर्यटकको संख्यामा वृद्धि भएको छ। यससँगै राजस्व पनि बढेको छ। 
 
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार चालु आवको ११ महिनामा एक लाख ४५ हजार ७०७ पर्यटक भित्रिएका छन् जसमध्ये ९४ हजार ३७५ विदेशी, १८ हजार १८५ सार्क मुलुकका र ३३ हजार १४७ नेपाली रहेका छन्। यो संख्या गत आवको पूरै वर्षको भन्दा बढी हो। 
 
गत आवमा एक लाख ३९ हजार ९७८ पर्यटक भित्रिएका थिए जसमध्ये ८८ हजार १९ विदेशी, १५ हजार ९०६ सार्क मुलुकका र ३६ हजार ५३ नेपाली रहेका थिए। 
 
यसैगरी, आव २०७२/०७३ मा ८७ हजार ३९१ मात्रै पर्यटक भित्रिएका थिए जसमध्ये ५० हजार १९३ विदेशी, छ हजार ६०६ सार्कका र ३० हजार ५९२ नेपाली रहेका थिए। त्यसवर्ष भूकम्प र नाकाबन्दीका कारण पर्यटकको संख्यामा कमी आएको थियो। 
 
पर्यटकको संख्या बढेसँगै राजस्व पनि बढेको छ। अर्यालका अनुसार यसवर्षको जेठ मसान्तसम्ममा २३ करोड ७५ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन भएको छ। गत आवमा २२ करोड ५१ लाख ६३ हजार राजस्व संकलन भएको थियो भने आव २०७२/०७३ मा १३ करोड १२ लाख २० हजार संकलन भएको अर्यालले जानकारी दिए। 
 
पछिल्ला वर्षमा नारायणगढ–मुग्लिन सडक विस्तारका कारण दिनमा सडक बन्द हुने भएकाले पर्यटकको संख्यामा कमी आएको थियो। आउँदो वर्षदेखि पर्यटकको संख्या उल्लेख्य वृद्धि हुने क्षेत्रीय होटल संघ, सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए। भूकम्प, नाकाबन्दी, सडक अवरोध जस्ता समस्या समाधान भएको भन्दै उनले आउँदो वर्ष उत्साहजनक रुपमा पर्यटक जिल्ला भित्रिने अनुमान गरिएको बताए।

Tata
GBIME
Nepal Life