काठमाडौं। कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवले काठमाडौं, ललितपुर र भक्तपुर जोड्ने बाहिरी चक्रपथ परियोजना भित्रपर्ने सबै जग्गालाई व्यावसायिक जग्गाको रुपमा वर्गीकरण गरेर जान सकिने बताएका छन्।
दोस्रो हाउजिङ समिटको उद्घाटन गर्दै मन्त्री खनालले व्यवस्थित शहर विकास गर्न उपत्यकाका निश्चित ठाउँलाई व्यावसायिक रुपमा वर्गीकरण गर्न सकिने धारणा सार्वजनिक गरेका हुन्।
सरकारले कृषि योग्य जमिनको खण्डीकरणमा रोक लगाएपछि उपत्यकामा पनि अधिकांश ठाउँमा कृषियोग्य जमिन भएकाले घरजग्गा व्यवसायीले प्लटिङ गर्न किनेको जमिनको काम गर्न पाएका छैनन्।
मन्त्री खनालले जमिनलाई कृषि, औद्योगिक,व्यसायिक र जंगल क्षेत्रमा वर्गीकरण गर्ने भन्दै उपत्यकामा बाहिरी चक्रपथ भित्र पर्ने सबै जमीन वा बाहिरी चक्रपथ भन्दा बाहिर पर्ने ५०० मिटर सम्मको जमिनलाई व्यवसायिक जमिनको रुपमा वर्गीकरण गर्न सकिने बताएका हुन्।
‘बाँडीचुडी खाने भए बाँडी चुडीनै खाउँ, हैन भने शहर व्यवस्थित गरेर जाउँ।‘खनालले भने, ‘पीपीपी मोडलमा ठूला एक डेढ सय रोपनी क्षेत्रफलमा शहर विकास गरौ।’उनले बाटो नभएको ठाउँमा घडेरी बेच्ने गरेको बताए।‘हाम्रा व्यवसायीले हावामा पनि घडेरी बिक्री गर्नुहुन्छ। बाटो नभएको ठाउँको जग्गा पनि बिक्री भइरहेको छ’उनले भने।










