काठमाडौं। कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवले काठमाडौं कुनै शहर नभएर अव्यवस्थित, अमर्यादित र कुनै साँध सिमाना नभएको बस्ती मात्रै भएको बताएका छन्।
‘हामी धेरै बस्ती भएको ठाउँलाई शहर भनिदिन्छौ। कुनैपनि पूर्वाधार नभएको तर दुई चार घर भएको बस्तीलाई शहर भनिदिन्छौ।‘ दोस्रो हाउजिङ समिट २०१८ को उद्घाटन गर्दै मन्त्री खनालले भने, ‘विश्वका शहरलाई हेर्ने हो भने काठमाडौं कुनै शहर होईन। बाक्लो बस्ती भएको ठाउँ मात्रै हो। यो अव्यवस्थित,अमर्यादित र कुनै साँध सिमाना नभएको बस्ती मात्रै हो।‘
मन्त्री खनालले, काठमाडौंलाई ५०/५५ लाख मानिस बस्ने ठाउँ भन्न सकिएपनि शहर भन्न नसकिने बताए।
अब घरजग्गा व्यवसायीले बाटोघाटो, बिजुलीबत्ति, विद्यालय, स्वास्थ्य, यातायात लगायतका पूर्वाधार भएको व्यवस्थित शहर बनाउन लाग्नुपर्ने मन्त्री खनालको सुझाव छ।










