काठमाडौं। सांसदहरुले आफ्नै पार्टीको सरकारले ल्याएको बजेटको विरोध गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली बजेटको विरोध नगर्न उर्दी जारी गरेका छन्।
सरकारले ल्याएको बजेटमाथि सांसदमा सत्तापक्षकै दलका सांसदले चर्को विरोध गरेका थिए। सांसदहरुले आफूहरुलाई वडाध्यक्षहरुको हैसियत भन्दा पनि तल झारेको भन्दै बजेटमाथि छलफलका क्रममा विरोध जनाएका थिए। शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का संसदीय दलका नेतासमेत रहेका ओलीले सांसदलाई बजेटको विरोध नगर्न उर्दी जारी गरेका हुन्।
सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएको भन्दै प्रधानमन्त्री ओलीले विरोध नगर्न निर्देशन दिएको बैठकमा सहभागी ने क पाका एक सांसदले बताए।
'सरकारी ढुकुटी नै बलियो छैन। यस्तो अवस्थामा बजेट आएको छ। यसलाई विरोध नगर्न उहाँले हामीलाई निर्देशन दिनुभयो,' ती सांसदले भने।
समृद्ध नेपाल सुखी नेपालीलाई सार्थक बनाउनका लागि बजेट आएको भन्दै प्रधानमन्त्री ओलीले समृद्धिको आधार तय गर्न बजेट सकारात्मक रहेको बताएका थिए।
'तपाईँहरुका असन्तुष्टि र भनाइ जायज हुन सक्छन्, मेरै निर्वाचन क्षेत्रमा पनि के के पर्यो, परेन मैले सोचेजस्तो नभएको हुनसक्छ,' प्रधानमन्त्री ओलीले भने, 'विरोध गरेर मात्र केही हुँदैन। यसको मर्म अनुरुप अभिव्यक्ति दिनुहोला।'
उनले बजेटको विरोध नभइ बचाउमा लाग्न समेत निर्देशन दिए। 'भाडामा पर्याप्त खाना नभएपछि केटाकेटीलाई जन्ते बाख्रो बाँड्दा कसैलाई झोल र कसैलाई टुक्रामात्र परे झैँ भान्छेलाई बाँड्न गाह्रो हुन्छ,' उनले भने, 'सार्वजनिक रुपमा विरोध नगर्नु यसको बचाउ गर्नु। असन्तुष्टिहरु नेतृत्वलाई भन्नु।'
प्रधानमन्त्री ओलीले बजेटमा भएका कमजोरीहरु छलफल मार्फत सच्याउदै र थप्दै लैजान सकिने भन्दै सांसदहरुलाई आश्वस्त पारे। यसैबीच ने क पाको पदाधिकारी र स्थायी समितिको बैठक आजै बस्दैछ।










