वीरगंज। वीरगंजका व्यवसायी एवं पूर्व सभासद् अनिल रुंगटाका कान्छा भाइ अनोज रुंगटालाई नक्कली सामाग्री बिक्री गरेको आरोफमा पर्सा प्रहरीले सोधपुछ गरेको छ।
जिल्ला प्रहरी कार्यालयले आदर्शनगरमा रहेको अनोजको विशाल हार्डवेयर पसलमा छापा मारी उनलाई सोधपुछका लागि प्रहरी कार्यालय लगेको थियो।
जगदम्बा समूहका सदस्य तथा जगदम्बा इन्टरप्राइजेज प्रालीका सञ्चालक अनोजमाथि नक्कली भारतीय ‘रेती’ बिक्री गरिहेको पर्सा प्रहरीमा उजुरी परेपछि प्रहरीले उनलार्इ पक्राउ गरेको तर सोधपुछ गरी छोडिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भारतीय रेती कम्पनी जेके फाइल एण्ड टुल्स इण्डिया लिमिटेडले आफ्नो उत्पादनको नक्कल बिक्री गरेको आरोपसहित प्रहरीमा उजुरी गरेपछि अनोजलार्इ सोधपुछका लागि प्रहरी कार्यालय लगिएको हो।
प्रहरीले छापा हानी चार इन्चको एउटा डब्बामा १० पिस रेती भएको ३५५ डिब्बा नक्कली रेती बरामद गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।‘प्रहरीमा उजुरी परेपछिअनोज रुगटालाई सोधपुछको लागि ल्याइएको थियो, अनुसन्धान पछि छोडिएको हो,’पर्साका एसपी ढकालले भने ।
प्रहरीले छापा मारेपछि ६ सय डिब्बा रेती काठमाडौंको एउटा सप्लायर्सबाट खरिद गरेको र जस मध्ये २ सय ४५ डिब्बा बेचेको बयान दिएका छन् ।
जेके कम्पनीको नक्कली रेती आफुले उत्पादन नगरेको उनले दावी गरेका छन्।नक्कली रेतीमा एमआरपी ५ सय १० रुपैयाँ लेखिएको छ तर सक्कलीमा मूल्य छैन।भारतीय कम्पनीका बजार अधिकृत पंकज गुप्ताका अनुसार अनोजले चीनबाट जेके ब्राण्डमै सामान बनाएर ल्याउने गरेका थिए।










