मौद्रिक नीति कस्तो? गभर्नर नेपालले भने, ‘पुँजीका विषयमा मैले बोल्दा भुईंचालो जान्छ, बोल्दिन’



बिजमाण्डू
२०७५ जेठ २७ गते १८:५० | Jun 10, 2018
मौद्रिक नीति कस्तो? गभर्नर नेपालले भने, ‘पुँजीका विषयमा मैले बोल्दा भुईंचालो जान्छ, बोल्दिन’

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति नेपाल सरकारको ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य भेट्ने गरि ल्याउने भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर चिनञ्जीवी नेपालले गएका दुर्इ वर्षको आर्थिक बृद्धिदर सकारात्मक रहेको र आगामी वर्षका लागि तय गरिएको लक्ष्य भेटे देश आर्थिक समृद्धितर्फ लम्किने बताए। उनले गएको 'मुभमेन्टमलार्इ क्याच' गर्ने गरी मौद्रिक नीति तयार पारिने उल्लेख गरे।

बैंकर एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले 'विग मर्जरको पोलिस' आएमा साथ दिने बताएपछि गभर्नर नेपालले भने, '८ अर्ब रुपैयाँ चुक्ता पुँजीको नीति ल्याउँदा भुईंचालो गयो त्यसैले अहिले नै यस विषयमा म बोल्दिन।' उनले राष्ट्र बैंकले जुनसुकै नीति ल्याउँदा अध्ययन गरेर ल्याउने भन्दै ढुक्क हुन आग्रह पनि गरे।

बैंकको पुँजी थोरै हुँदा एउटा जलविद्युत आयोजनाको लागि ऋण जुटाउन पनि गाह्रो परिहेको भन्दै बैंकहरु बलियो हुनुपर्नेमा जोड दिए। 'अब जिडिपि गणना आधुनिक तरिकाबाट हुँदै छ, यसले जिडिपीको आकार प्रस्ट देखाउँछ जसले गर्दा नेपालको अर्थतन्त्रको आधार अझ ठुलो देखिनेछ,' उनले भने, 'त्यतिबेला बैंक तथा बित्तीय संस्था अझ बलियो हुनुपर्छ।'

८ अर्ब रुपैयाँको नीतिको बयान गर्दै नेपालले भने, '२०६२ सालमा २ अर्बका बैंकसँग २ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप थियो २०७३ अहिले २ हजार अर्ब रुपैयाँ नाघिसकेको छ। हिजोकै पुँजीमा छाडिएको भए यो सम्भव हुन्थ्यो।'

वित्तीय साक्षरता नहुँदा नेपालमा अन्तर्राष्ट्रिय प्रविधि भित्र्याउन नसकिएको उनले बताए। 'हामीले दक्षिण एसियामै पहिलोपटक अनलाइन बैंकिङ ल्याउन खोज्यौँ, तर त्यतिबेला सबैले पैसा गन्न मात्रै चाहनु भयो।'