राष्ट्र बैंकले मर्जर नीति ल्याए बैंकर्स संघले सघाउने, ढुङ्गानाले भने- संख्या घटाउन सघाउँछौं



बिजमाण्डू
२०७५ जेठ २७ गते १६:४८ | Jun 10, 2018

Tata
GBIME
Nepal Life

काठमाडौ। चार गुणा पूँजी बृद्धिको कोर्ष भर्खरै पुरा गरेको नेपाल राष्ट्र बैंकलाई आगामी दिनमा मर्जरको नीति लिए नेपाल बैंकर्स संघले सहयोग गर्ने भएको छ। संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले राष्ट्र बैंकले मर्जरको नीति लिएमा त्यसमा सहयोग गर्ने बताएका हुन्।

 
'राष्ट्र बैंकलाई संख्यात्मक रुपमा बैंक वित्तीय संस्थाको संख्या धेरै लाग्छ भने मर्जरको नीति लिन सकिन्छ' नेपाल ब्यवस्थापन संघ (म्यान) ले आगामी मौद्रिक नीतिका लागि सुझाव दिन आइतबार आयोजना गरेको कार्यक्रममा ढुङ्गानाले भने, 'हामी सहयोग गर्न तयार छौं।' उनले ठूला बैंकहरु मर्ज हुँदा अर्थतन्त्र र नियामकलाई पनि फाइदा हुने बताए।
 
उनले बैंकर्स संघ, विकास बैंक संघ, फाइनान्स कम्पनी संघ पनि मर्ज भएर एउटै हुने र अझ शसक्त उपस्थित हुने भन्दै राष्ट्र बैंकले मर्जरको नीति लिँदा सघाउने बताएका हुन्। कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपाल उपस्थित थिए।
 
राष्ट्र बैंकले असार पहिलो सातासम्म आगामी आर्थिक बर्षको मौद्रि नीति सार्बजनिक गर्दैछ। राष्ट्र बैंकले भर्खरै मात्र चुक्ता पूँजी बृद्धिको कोर्ष पुरा गरेको छ। 
 
चुक्ता पूँजी बृद्धिसँगै राष्ट्र बैंकले 'विग मर्जर' को रणनीति लिने समाचार सार्बजिनक भइरहेका बेला बैंकर्स संघका अध्यक्ष ढुङ्गानाले मर्जरमा राष्ट्र बैंकलाई सघाउने धारणा सार्वजनिक गरेका हुन्।
 
राष्ट्र बैंकले पछिल्लो समय मर्जरको बिषयलाई प्राथमिकतामा राखेर बैंकहरुलाई मनोवैज्ञानिक दवाव दिँदै आएको छ। राष्ट्र बैंकको मौद्रिक नीति तर्जुमामा जुटिरहेको अनुसन्धान विभागले मर्जरका बारेमा बैंकर्ससँग धारणा लिनसमेत थालेको छ।
 
बाणिज्य बैंकहरुका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतहरुसँग नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुले अनौपचारिक रुपमा मर्जरका बारेमा छलफलसँगै अर्थमन्त्रीसँग पनि अनौपचारिक राय माग गरेको थियो।
 
अर्थमन्त्री डा. युवराज खतिवडालाई सरकारी तीन बैंक मर्ज गरेर एउटै बनाउन सकिने/नसकिने बारे राष्ट्र बैंक उच्च ब्यवस्थापनले केही समयअघि राय मागेको थियो। राष्ट्र बैंकले राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकलाई मर्जर गरेर एउटा बनाउने प्रस्ताव अर्थमन्त्रीलाई गरेको हो।
 
यही सेरोफेरोमा बैंकर्स संघबाट गभर्नर नेपाललाई सहयोगको वाचा गरिएको हो।