मन्त्रिपरिषद् बैठक: तातोपानीको मितेरी पुल र रसुवागढी–स्याफ्रूबेँसी पुल चीनको सहयोगमा बन्ने



बिजमाण्डू
२०७५ जेठ २७ गते १३:११ | Jun 10, 2018

Tata
GBIME
Nepal Life

काठमाडौँ। नेपाल प्रहरीमा अब तीन जना मात्रै एआइजी रहने भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा तीन जना मात्रै एआइजी रहने गरी दरबन्दी कायम गरेको हो।

यस अघि १५ जना एआइजी रहँदै आएकोमा मन्त्रिपरिषद बैठकले अब ३ जनाको मात्रै दरबन्दी कायम गर्ने गरेको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

त्यसैगरी सशस्त्र प्रहरीमा पनि एआइजीको दरबन्दी २ जना कायम गरिएको छ।

बैठकले स्थानीय तहमा आवश्यक पर्ने जनशक्तिको पदपूर्तिलाई पहिलो प्राथमिकता दिई आगामी आर्थिक वर्षभित्र १६ सय दरबन्दी र बाँकी दरबन्दी क्रमशः पदपूति गर्ने गृह मन्त्रालयको प्रस्तावित ३ हजार १ सय १ दरबन्दी पनि स्वीकृत गरिएको सरकारका प्रवक्ता बास्कोटाले बताए।

सरकारले तातोपानीस्थित मितेरी पुल र रसुवागढी–स्याफ्रूबेँसी तथा चीनको ज्याङबु जोड्ने पुल बनाउने चीन सरकारको प्रस्ताव पनि स्वीकृत गरेको छ । दुवै पुल चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुनेछ।

त्यसैगरी नेपाल र चीन सरकारबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नका लागि आवश्यक समझदारी गर्ने अख्तियारी ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीलाई दिने निर्णय पनि गरिएको सरकारका प्रवक्ता बास्कोटाले जानकारी दिए।

चीनको नेशनल इनर्जी अफ एडमिनिष्ट्रेशनले नेपालको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयसँग उर्जा क्षेत्रमा सहकार्यका लागि समझदारी गर्ने प्रस्ताव अघि सारेको थियो। सोही प्रस्तावमा समझदारी गर्ने अख्तियारी मन्त्रीपरिषद बैठकले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनलाई दिएको हो।