भक्तपुरमा काम नगर्ने ६ ठेकेदारको नाम गृह मन्त्रालय पुग्यो, प्रचण्डका घरबेटी अधिकारी पनि परे



रासस
२०७५ जेठ २४ गते १७:२० | Jun 7, 2018

भक्तपुर। जिल्लामा सञ्चालित विभिन्न विकास निर्माण समयमा सम्पन्न नगर्ने नौ आयोजनाका छ निर्माण कम्पनीको विवरण जिल्ला प्रशासन कार्यालय भक्तपुरले गृह मन्त्रालयमा पठाएको छ ।

Tata
GBIME
Nepal Life

गृहमा पठाएको नामावलीमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट निर्माण ब्यवसायी शारदा अधिकारी पनि परेका छन्।  शारदा अधिकारीले कमलविनायक–नगरकोट सडक निर्माणअन्तर्गत शैलुङ्ग कन्स्ट्रक्सनबाट निर्माणको जिम्मा लिने तर समयमा काम सम्पन्न नगर्ने व्यवसायीको सूचीमा राखेर गृह मन्त्रालयमा नाम पठाएको हो।

विवरणमा एकै निर्माण व्यवसायीका तीन आयोजनासम्म समयमा सम्पन्न नभएको देखिएको छ । सूर्यविनायक –७ गुण्डुका निर्माण व्यवसायी दीपक राना मगरका तीन आयोजना अधूरो देखिएको छ ।

उनको निर्माण कम्पनी लोहनी एण्ड ब्रदर्श/लालीगुराँस निर्माण सेवा जेभीले ठेक्का लिएको चाँगुनारायण प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण, कमलविनायक बसपार्क भत्केपाटी सडक योजना र पेप्सीकोला– सल्लाघारी– भक्तपुर– नगरकोट– ब्यासी– सल्लाघारी –दरबार स्क्वायर सडक योजना समयमा सम्पन्न नभएको हो ।

त्यस्तै भीमसेन भण्डारीको सुनौला खिम्ती कन्ट्रक्सनले लोकन्थली हेल्थपोष्ट रमाइलो चेक चाइल्ड नेचर स्कूलसम्मको सडक निर्माण र हनुमन्ते खोला–अरनिको राजमार्ग– वप्पा पाटी– विहार– वहाखाबजार सडक निर्माणको ठेक्का पाएकामा दुई योजना अधूरा छन् ।

त्यसैगरी दुवाकोट स्वास्थ्यचौकी भवन निर्माणअन्तर्गत शाह इञ्जिनीयरिङ्ग कन्स्ट्रक्सन प्रालि धापाखेलका सञ्जीव शाह, मनोहरा पुल– इन्द्रायणी– साँखु सडक योजनाका लामा बिल्डर्स/साल्पा शेर्पा/जयबाबा गोरखा जेभीका श्यामकुमार श्रेष्ठ, ठिमी चारदोबाटो बालकोट चोकअन्तर्गत वर्ल्डवाइड/विष्णु जेभी काठमाडौँका विष्णु लामा, कमलविनायक–नगरकोट सडक निर्माणअन्तर्गत शैलुङ्ग कन्स्ट्रक्सनका शारदा अधिकारीलाई पनि जिप्रकाले समयमा काम सम्पन्न नगर्ने व्यवसायीको सूचीमा राखी मन्त्रालयमा पठाएको प्रजिअ नारायणप्रसाद भट्टले जानकारी दिए।

शारदा अधिकारी  नेकपाका अध्यक्ष प्रचण्ड निकट निर्माण ब्यवसायी हुन्। उनै अधिकारीले उपलब्ध गराएको खुमलटारस्थित घरमा प्रचण्ड बस्दै आएका छन्।