वीरगंज। संघ शहरी विकास कार्यक्रम अन्तर्गत निर्माण सडक परियोजनाको पहिलो खण्डको बुधबार बिहान वीरगंज महानगरपालिका वडा नं २१ परवानीपुरमा शिलान्यास भएको छ ।
वीरगंज महानगरपालिका,शहरी विकास मन्त्रालयको बजेटमा वीरगंजको विभिन्न वडाहरुमा निर्माण हुने सडक योजनाको पहिलो खण्डको २७ किलोमिटर सडकको शिलान्यास भएको हो ।वीरगंजका मेयर विजय सरावगीले सडक निर्माण कार्यको शिलान्यास गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सरावगीले विकास निर्माणको कार्यमा सबैले सघाउन आग्रह गरे । ग्रामीण भेगको विकासले मात्रै महानगरपालिकाको विकास सम्भव हुने भएकोले सडकको निर्माणकार्यको महानगरमा पछि थपिएको वडा लिपनीविर्ताको परवानीपुरबाट सुरुवात गरिएको बताए ।
उनले विकास शुरु भइसकेकोले अब महानगरको अतिक्रमित सार्वजनिक जग्गा अबिलम्ब खाली गर्न अपिल गरे । मेयर सरावगीले वीरगंज सहरलाई सफा र हराभरा सहर बनाउनको लागी सडक निर्माण सँगसँगै ऐलानी जग्गाहरुमा वृक्षारोपण गर्ने समेत महानगरको योजना रहेको बताए ।
वीरगंज महानगरपालिकामा रहेको विभिन्न सडकहरुको स्तरोन्नति कार्यका लागि दुई वटा प्याकेजमा ९ मिटर चौडा निर्माण हुने ३० वटा सडकको पहिलो सडक खण्डको ठेक्का निर्माण व्यवसायी स्वच्छन्द,पप्पु र युनाइटेड कम्पनीले ७३ करोड ७५ लाख ९ हजार रुपैयाँमा ठेक्का लिएको बताए ।
यसमा नाला सहित ९ मिटर चौडा १७ वटा सडकहरु निर्माण गर्नुपर्ने योजना छ ।यसैगरी वीरगन्जको नगवामा योजनाको दोश्रो खण्डको शिलान्यास कार्यक्रम छिट्टै गरिने जनाइएको छ ।
महानगरको सडक निर्माण तथा मर्मत सम्भार योजनामा तीन ठेकेदारमध्ये पप्पु कन्सट्रक्सनले ठेकेदार पार्टनर रहेकोले महानगरको सडकको निर्माण कार्य कुन रुपमा अघि बढ्ला भन्ने विषयमा नगरवासी चिन्तित छन् किन भने अर्बौको योजना लिने तर समयमा कामै नगर्ने ठेकेदारको रुपमा पप्पु कन्स्ट्रक्सन परिचित छ । फोरम नेपाल पर्सा क्षेत्र नं ३ का सांसद हरिनारायण रौनियारका छोरा सुमित रौनियार प्रबन्ध निर्देशक रहेको कम्पनीले यो परियोजनाको काम पनि समयमा सम्पन्न गर्छ कि गर्दैन भनी अहिले देखि नै चर्चा चल्न थालेको छ ।










