भैरहवा पारीको भन्सारलाई अनलाइन सिस्टम फापेन, इन्टरनेट चुस्त नहुँदा ट्रकको लाइन ५ किमी नाघ्यो



बिजमाण्डू
२०७५ जेठ २२ गते १६:२८ | Jun 5, 2018

भैरहवा। भारतले भन्सार प्रणालीको सुधारकालागि अनलाइनमा आधारित सेवा सुरु गरे पनि नेपाल भित्रने सवारी साधनमा त्यसको विपरित असर देखिन थालेको छ।

Tata
GBIME
Nepal Life

अनलाइन सेवालाई चुस्त बनाउन राम्रो इन्टरेनट सेवा नहुँदा भारततर्फबाट भन्सार क्लियरेन्समा समस्या बढ्न थालेको छ। भारतीय भन्सार कार्यालयमा रहेका कर्मचारीहरुले इन्टरेनटको समस्या देखाउँदै सवारी साधन क्लियरेन्समा समस्या देखाउने गरेका छन्।

भारतले अप्रिल १६ बाट भन्सारमा अनलाइन प्रणाली सुरु गरेको थियो। तर, अनलाइन प्रणालीले प्रभावकारी काम गर्न नसकेको र सर्भर र 'फिल्ड'मा रहेको सिस्टमबीच 'कनेक्सन' राम्रो नभएको भन्दै सवारी साधन क्लियर गर्न समय लगाउने गरेको छ।

'उनीहरुले निर्यातजन्य सामान बोकेर आउने सवारी साधनलाई कोड दिएको हुन्छ,' भैरहवा भन्सारका एक अधिकारीले भने, 'गाडीमा लगाइएको र भन्सारको सिस्टममा भएको कोडको मिलानपछि मात्रै क्लिएरेन्स प्रक्रिया अघि बढ्छ। उनीहरु सिस्टम नचलेका कारण समस्या देखाइरहेका छन्।'

क्लियरेन्समा समस्या बढ्दै जाँदा नेपाली व्यवसायी र ट्रक चालकहरुले भैरहवाको विकल्प खोज्नुपर्ने बेला आएको नेपालस्थित भन्सार कार्यालयलाई बताउन थालेका छन्। 'कुनै सवारी साधनलाई ५ दिनसम्म लगाइएको छ, सुरक्षा र अनलाइनका नाममा तनाव मात्रै थपिएको छ,' एक आयातकर्तालाई उद्धृत गर्दै भैरहवा भन्सारका अधिकारीले भने।

समयमै सवारी साधन क्लिएरेन्स नहुँदा नेपाल आउन ठिक परेका सवारी साधनको लाइन भारतमा ५ किलोमिटर लामो भइसकेको छ। 'लाइन दिनदिनै बढिरहेको छ, उनीहरुले एक किसिमको अवरोध नै सिर्जना गरेका छन्,' भैरहवामा काम गरिरहेका एक भन्सार एजेन्टले भने, 'अहिले नेपालतर्फ कुनै समस्या छैन। उताबाट नै सवारी आउन समय लागिरहेको छ।'

भारततर्फ भन्सार क्लिएरेन्समा समस्या बढ्दै गएपछि केही दिनअघि नेपाली भन्सार अधिकारीहरु पनि भारतीय भन्सार अधिकारीसँग कुरा गर्न भारत गएका थिए। तर भारतीय भन्सार अधिकारीहरुले आफूहरुका कारण भन्दा पनि बलियो इन्टरनेट सुविधा नहुँदा समस्या बढिरहेको र यो समस्या छिट्टै समाधानका लागि पहल भइरहेको जवाफ दिएका थिए।

भारतीय सुरक्षा अधिकारीहरुले नेपालबाट भारत जाने रित्ता सवारी साधनको चेकजाँचमा पनि समय लगाउँदै आएका छन्। 'उहाँहरुले सुरक्षाको कारण भन्दै यताबाट जाने ट्रकहरुमा पनि कडाई गरिरहनु भएको छ,' भन्सारका ती अधिकारीले भने।

भन्सार एजेन्टहरुले अप्रिल १६ यता निरन्तर अवरोधहरु देखिँदै गएको भन्दै त्यसको छिटो समाधानको पहल हुनुपर्ने बताएका छन्। 'अवरोध सिर्जना हुने गरी उनीहरुले व्यवहार गरिरहेका छन्। डेढ महिनासम्म इन्टनेटकै समस्या देखाइँदै आएको छ,' एक एजेन्टले भने।

भारतले अनलाइन प्रणाली सुरु गर्नुअघि दैनिक करिब ५ सय वटा सवारी साधन नेपाल प्रवेश गर्ने गरेका थिए। अहिले दुईसय ५० वटा ट्रक नेपाल आइरहेका भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी कलिराम पौडेलले जानकारी दिए। 'सवारी साधनको आवागमन कम भएको छ,' उनले भने, 'हामीबाट भन्दा पनि माथिबाटै यो समस्या समाधानका लागि पहल होस्।'