
काठमाडौं। विगतका वर्षमा जस्तै यसपालिको तिहारमा पनि सुन पसलमा ग्राहकको भिड लाग्यो।
धनतेरसका दिन अधिकांश सुन पसलेलाई गहना बेच्न भ्याइनभ्याइ थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले नै तिहारको समयमा ५० केजीभन्दा बढी सुन बिक्री भएको अनुमान गर्यो।

सुन तिहारमा मात्र बिक्री हुने होइन। हरेक दिन गहनाको व्यापार हुन्छ। व्यापारीले बेच्ने सुन वाणिज्य बैंकहरुले आयात गर्छन्। बैंकले धनतेरसलाई लक्षित गरेर कात्तिक लागेपछि ३२ किलो सुन ल्याएका थिए। तर, त्यसमध्ये २७.५ किलो अझै स्टकमा छ।
त्यसो भए व्यापारीले सुन कहाँबाट ल्याएर बेचिरहेका छन् त?
व्यवसायीहरु स्वयं नै बजारमा तस्करीको सुन बिक्री भइरहेको बताउँछन्। महासंघका एक पदाधिकारीले बैंकसँग किन्दा महँगो पर्ने भएकाले व्यापारीहरुले अहिले भारतबाट तस्करी भएको सुन किनेर गहना बेचिरहेको बताए।
‘व्यवसायीहरु अहिले कारोबार भएको सुनको परिमाण भन्न मान्दैनन् किनभने अहिले गहना बजार तस्करीको सुनले चलेको छ,’ महासंघका ती पदाधिकारीले भने, ‘बैंकले आयात गरेको नगन्य परिमाणको सुन पनि स्टकमा बस्नु र बजारमा अभाव नहुनु भनेको सबैले तस्करीको सुन बेचिरहेका छन् भन्ने छर्लंग हुनु हो।’
ती व्यापारीको भनाइलाई तथ्यांकले पनि पुष्टि गर्छ। आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिनामा बैंकहरुले ११ सय १६ किलो सुन आयात गरे। जबकि त्यो वर्ष सुन आयातको दैनिक कोटा १० किलो मात्रै थियो। विदेशी मुद्राको सञ्चिति निरन्तर ओरालो लागेपछि सरकारले २०७८ फागुन तेस्रो साता सुन आयातको दैनिक कोटा २० किलोबाट १० किलोमा झारेको थियो।
व्यवसायीहरुले १० किलोले बजारको माग नधान्ने भनेर निरन्तर दबाब दिएपछि सरकारले २०८० असोज पहिलो साता कोटा फेरि २० किलो पुर्यायो। गत आर्थिक वर्ष पहिलो चार महिनामा बैंकले १ हजार किलो सुन ल्याए।

तर, यो वर्ष चार महिनामा बैंकले १३२ किलो भन्दा आयात गरेका छैनन्। जबकि दैनिक २० किलो खपत हुने व्यापारीहरुको भनाइलाई पत्याउने हो भने बैंकले यो वर्ष आयात गरेको सुनले ७ दिनको माग पनि धान्दैन। तर, ७ दिनको माग पनि नधान्ने सुनमध्ये २१ प्रतिशत बैंकमै स्टक छ।
यसको अर्थ अन्सार तिरी वैधरुपमा भित्रिएको सुनको साटो व्यापारीहरुले तस्करीको सुन खुलेआम बिक्री गरिरहेका छन्। ‘अहिले बजारमा बिक्री भइरहेको सुन तस्करीकै हो। तर, यस विषयमा खोजी हुने भयका कारण कुनै व्यपारीले पनि आफ्नो व्यापारको परिमाण खुलाउन मान्ने अवस्था छैन,’ एकजना गहना व्यापारीले भने।
भारतबाट भइरहेको छ तस्करी
तत्कालीन अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते बजेट सार्वजनिक गर्ने क्रममा सुनको भन्सार दर १५ बाट २० प्रतिशत पुर्याए। जसले गर्दा सुनको भाउ तोलामा ६ हजार रुपैयाँ हाराहारी बढ्न पुग्यो।
भन्सार दर बढाइएको विरोधमा न्युरोडका सुन व्यवसायी पसल बन्द गरेर सडकमै उत्रिए। तर, सरकारले उनीहरुको कुरा सुनेन।

नेपालमा बजेट सार्वजनिक भएको केही समयपछि भारतले आफ्नो बजेट ल्यायो। भारतीय अर्थमन्त्री निर्मला सीतारमणले भने भन्सार दर घटाइन्। जसका कारण नेपालमा भन्दा भारतमा सुनको मूल्य प्रति तोला २० हजार रुपैयाँ हाराहारी सस्तो हुन पुग्यो।
‘तोलामै २० हजार रुपैयाँ फरक रहेका कारण भारतबाट नेपालमा सुन तस्करी भइरहेको हो,’ एकजना व्यवसायीले भने, ‘पहिला नेपालबाट भारतमा तस्करी हुन्थ्यो। अहिले उताबाट यता आइरहेको छ।’
तस्करीलाई सरकारकै प्रोत्साहन !
वैधानिक रुपमा हुने सुनको आयात ठप्पजस्तै हुँदा पनि सरकारले बजारमा कहाँबाट सुन भित्रिरहेको छ भन्ने खोजेको छैन। जसले गर्दा एकातिर तस्करी गर्नेहरुलाई प्रोत्साहन पुगिरहेको छ भने अर्कातिर सरकारले राजस्व गुमाइरहेको छ।
सानो परिमाणमा सुन ओसार्ने भरियालाई बेला बेला पक्राउ गरेपनि प्रहरी तस्कर गिरोहसम्म पुग्न सकेको छैन। नेपाल प्रहरीका पूर्वडीआइजी वसन्तकुमार लामाले सरकारी निकायले आँखा चिम्लिएकै कारण सुनको तस्करी मौलाएको तथ्य घामझैं छर्लङ्ग रहेको बताए।

‘बजारमा सुन निरन्तर बिक्री भइरहेको छ। तर, बैंकले आयात नै गरेको देखिंदैन। नगन्य परिमाणमा आयात गरेको पनि स्टक रहनु भनेको बजारभरि तस्करीको सुन छ भन्ने स्पष्ट हुनु हो,’ लामाले भने, ‘व्यापारीकहाँ गएर स्रोत खोज्ने हो भने दुधको दुध पानीको पानी निस्किन्छ। तर, सरकारी निकायको बेवास्ताले तस्करी गर्नेलाई नै प्रोत्साहन मिलेको देखिन्छ।’
महासंघका पदाधिकारी भन्सार दर घटे सुनको अवैध आयात रोकिने बताउँछन्।