काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज लुम्बिनी लायन्सले पहिलो विदेशी खेलाडी अनुबन्धित गरेको छ। रोहितकुमार पौडेल मार्की खेलाडी रहेको लुम्बिनीले इङ्ग्ल्याण्डका टम मोर्स अनुबन्धित गरेको हो।
२८ वर्षीय मोर्सले पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिगलगायत फ्रेन्चाइज खेलिसकेका छन्। लुम्बिनीको प्रशिक्षकमा शक्ति गौचन छन्।
लुम्बिनी एनपीएलको अक्सनमा सबैभन्दा धेरै रकम खर्चिने टोलीसमेत हो। अक्सनमा लुम्बिनीले सर्वाधिक ८४.७४ लाख रुपैयाँ खर्चिएको थियो। मार्की खेलाडी र अक्सनबाट प्राप्त खेलाडीपछि पछिल्ला दिनमा क्लबहरू धमाधम विदेशी खेलाडी अनुबन्ध गर्न जुटेका छन्।
एनपीएलमा एउटा क्लबले ४ जना विदेशी खेलाडी राख्न पाउने व्यवस्था छ। हालसम्म पोखरा एभेन्जर्सले सर्वाधिक ३ विदेशी खेलाडीको टुंगो लगाइसकेको छ।
पोखराले आन्द्रेस गुएस (अमेरिका), बस डी लिडे (नेदरल्याण्ड्स) र एन्डरसन फिलिप (वेस्ट इण्डिज)लाई अनुबन्धित गर्दा विराटनगर किंग्सले अक्विब इल्यास (ओमन), सुदूरपश्चिम रोयल्सले ब्राण्डन म्याकमलेन (स्कटल्याण्ड), कर्णाली याक्सले हुसैन तलात (पाकिस्तान) र लुम्बिनी लायन्सले टम्स मोर्स (इङ्ग्ल्याण्ड) लाई भित्र्याएका छन्।










