साफ : दुई खेलाडीले चोट ब्यहोर्दा दबाबमा नेपाल, माल्दिभ्ससँगको खेलमा साम्बाको आगमनले राहत



बिजमाण्डू
२०८१ कात्तिक ५ गते १३:४१ | Oct 21, 2024
साफ : दुई खेलाडीले चोट ब्यहोर्दा दबाबमा नेपाल, माल्दिभ्ससँगको खेलमा साम्बाको आगमनले राहत

काठमाडौं। साफ महिला च्याम्पियनसिपमा आज नेपाल र माल्दिभ्स भिड्दैछन्। यो खेल साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ।

Tata
GBIME
Nepal Life

पहिलो खेलमा भुटानसँग अप्रत्यासित बराबरी खेलेको नेपाललाई आज जित निकाल्ने दबाब छ। प्रतियोगिताको समूह ‘बी’मा नेपालसहित भुटान, माल्दिभ्स र श्रीलंका छन्।

नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो। अर्कोतर्फ श्रीलंकाले माल्दिभ्सलाई १-० गोलअन्तरले हराएको थियो।

समूह चरणबाट दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। यस्तोमा दुई खेल खेल्न बाँकी छँदा नेपालले नतिजा आफ्नो पक्षमा ल्याउनै पर्ने देखिन्छ।

आजै भुटान र श्रीलंका दिउँसो साढे १ बजे भिड्नेछन्।

खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सले गर्नेछ।

चोटले थपिएको चिन्ता

प्रतियोगिताको पहिलो खेलमा नेपाललाई बराबरीको अप्रत्यसित नजिताले भन्दा ठूलो दबाब दुई खेलाडीले ब्यहोरेको चोटले दियो। भुटानसँगको खेलमा मिडफिल्डर दीपा शाही र डिफेन्डर हीराकुमारी भुजेलले चोट ब्यहोरे।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आधिकारिक विज्ञप्ति जारी गर्दै यी दुई खेलाडीले साफ च्याम्पियनसिपको बाँकी सबै खेल गुमाउने स्पष्ट पारेको छ। पहिलो खेलबाटै पहिलो रोजाइका खेलाडीले चोट ब्यहोर्दा नेपाललाई थप दबाब परेको छ।

साम्बाको आगमनले उत्साह

नेपाली महिला फुटबल टोलीकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ आइतबारमात्र नेपाल आइपुगेकी छिन्। भुटानविरुद्धको खेलमा पूर्णतया खेल नेपालले आफ्नो पक्षमा पारेर पनि गोल गर्न नसक्दा स्पष्ट रुपमा उनको अभाव खड्किएको देखिएको थियो।

उनी नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीसमेत हुन्। हाल फ्रान्सको शीर्ष डिभिजन फुटबल खेलिरहेकी उनले केही दिनअघि आफ्नो टोलीका लागि गोलसमेत गरेकी थिइन्।

आजको खेलमा उनी उपलब्ध भएको खण्डमा आक्रमण पंक्तिमा नेपाल बलियो बन्ने देखिन्छ।