हुलाकी राजमार्गअन्तर्गत कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा समस्या



बिजमाण्डू
२०८१ असोज २८ गते १२:१३ | Oct 14, 2024
हुलाकी राजमार्गअन्तर्गत कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा समस्या
तस्बिर : रासस।

राजविराज। हुलाकी राजमार्गअन्तर्गत राजविराज-कञ्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउँपालिका-४ बनौलीस्थित कालिया खोलामा निर्माणाधीन पुल अलपत्र अवस्थामा छ। जसले गर्दा आवतजावतमा निकै समस्या भइरहेको छ।

Tata
GBIME
Nepal Life

लामा बागमती निर्माण सेवाले विसं २०७१ मा निर्माण सुरु गरे पनि काम सुस्त हुँदा स्थानीयलाई समस्या भएको छ।

पुल नबन्दा खोला तरेर दैनिक सयौँ सवारीसाधन र स्थानीयले आवातजावत गर्नुपर्ने बाध्यता रहेको स्थानीय पिन्टु यादवले गुनासो गरे। जिल्लाको सदरमुकाम राजविराजसमेत जोड्ने पुल भएकाले हजारौँ मानिसले जोखिमपूर्ण यात्रा गर्नु परिरहेको उनले सुनाए।

तिरहुत गाउँपालिका-३ का बुधिलाल अरगारिया यादवले समयमा पुल निर्माण नहुँदा वर्षाको समयमा खोलामा अत्यधिक बाढी आउने र आवतजावतमा अवरोध सिर्जना हुने गरेको बताए।

‘सामान्य वर्षा भए पनि खोलाबाट चारपाङ्ग्रे र दुईपाङ्ग्रे गाडी आउनेजानेक्रम पूर्ण रुपमा बन्द हुने गरेको छ। राजविराजबाट जिल्लाको पूर्वमा महेन्द्र राजमार्ग जोड्ने तिरहुत गाउँपालिका, कञ्चरुप नगरपालिका, सप्तकोसी नगरपालिका र उदयपुर जिल्लासम्मका लामो तथा छोटो दूरीका सवारीसाधन संचालनमा अवरोध हुन्छ,’ उनले भने।

यस्तै, यस आसपास जोडिएको करिब २ किलोमिटर सडकसमेत कालोपत्रे हुनसकेको छैन। बज्रगुरु निर्माण सेवा जेभीको ठेक्कामा रहेको यो सडक कालोपत्र नहुँदा थप समस्या भइरहेको सोही ठाउँका देवनारायण यादवले गुनासो गरे।

यस्तै, तिरहुत गाउँपालिका-५ बुधेवामा पुल निर्माण भए पनि त्यससँग जोडिएको १ किलोमिटर सडक कालोपत्र गर्न ढिलाइ भएको छ। रासस