काठमाडौं। सेयर धितो कर्जा प्रवाहमा बैंक तथा वित्तीय संस्थाले मार्जिन कल गर्ने तथा थप सुरक्षण सम्बन्धी व्यवस्था प्रोडक्ट पेपरमै उल्लेख गर्नुपर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सर्कुलर जारी गरेर ऋणीलाई मार्जिन कल गर्ने तथा थप सुरक्षण नराखेमा सेयर बिक्री गरी असुलउपर गर्ने सम्बन्धी व्यवस्था प्रोडक्ट पेपरमै खुलाउन भनेको हो।
राष्ट्र बैंकको निर्देशनसँगै अब बैंकहरुले सेयर धितो कर्जा प्रवाह गर्दा कस्तो अवस्थामा मार्जिन कल गर्ने भन्ने कुरा ऋणीसँगको सम्झौतामा उल्लेख गर्नुपर्ने छ।
सेयरको बजार मूल्यमा हुने परिवर्तनको कारणले सेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सोको मूल्य अनुगमन गरी थप धितोको लागि ऋणी ग्राहकलाई सूचित गर्नुपर्ने व्यवस्था छ।
सेयरको मूल्य घटेपछि ग्राहकले थप सुरक्षण नराखेमा बैंक तथा वित्तीय संस्थाहरूले सेयर बिक्री गरी असुलउपर गर्न सक्ने व्यवस्था छ।
बैंकले मार्जिन कल गर्दा ग्राहकले थप सुरक्षण नराखेमा सेयर बिक्री गरी असुलउपर गर्न सक्ने छन्। त्यस्तै, मार्जिन कल गर्दा सो सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस सेयर सूचीकरण नभएको अवस्थामा समेत धितोमा गणना हुने व्यवस्था छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजीको ०.५ प्रतिशतभन्दा बढी सेयर लिएका संस्थापक समूहका सेयरधनी, एक प्रतिशत वा सोभन्दा बढी सेयर लिएका सेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यहरूको स्वामित्वमा रहेको सम्पत्तिको धितोमा सोही संस्थाबाट धितो राखी कर्जा प्रवाह गर्न नपाइने व्यवस्था गरेको छ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाका चुक्ता पुँजीको ०.५ प्रतिशतभन्दा बढी सेयर भएका सेयरधनीहरूको विवरण अर्ध वार्षिक रुपमा राष्ट्र बैंकमा पेस गर्नु पर्ने भएको छ।
राष्ट्र बैंकले सुनचाँदी धितो राखेर ५० लाख रुपैयाँसम्मको ऋण सीमा तोकेको छ। यसअघि सुनचाँदी धितोमा कुनै सीमा थिएन।
बैंक तथा वित्तीय संस्थाले यसअघि प्रवाह गरेको सुनचाँदी धितो कर्जाको हकमा २०८३ असार मसान्तसम्म एकल ग्राहक कर्जा सीमा कायम गरी सक्नुपर्ने छ।











