केही राजमार्गमा अझै पहिरोले सडक अवरुद्ध, कहाँ कहाँको बाटो आंशिक बन्द छ ?



बिजमाण्डू
२०८१ असोज २२ गते ११:२० | Oct 8, 2024
केही राजमार्गमा अझै पहिरोले सडक अवरुद्ध, कहाँ कहाँको बाटो आंशिक बन्द छ ?

काठमाडौं । नेपाल प्रहरीका अनुसार देशका मुख्य राजमार्गमा ६ स्थानमा अझै सडक पूर्णरुपमा अवरुद्ध रहेको छ।

Tata
GBIME
Nepal Life

विपी राजमार्ग, कान्तिपथ, अरनिको राजमार्ग  लगायत राजमार्गमा अझै सडक पूर्ण रुपमा बन्द रहेका हुन्।

बाढी पहिरोको कारण बन्द रहेका राजमार्गहरुको केही खण्ड भने एकतर्फी संचालनमा आएका छन्। आंशिक रुपमा बन्द भएका राजमार्गमा पनि वैकल्पिक मार्गबाट यात्राको व्यवस्था गरिएको छ।

काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य राजमार्ग मध्येको विपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका ११ कालढुंगा सडकखण्ड पूर्णरुपमा अवरुद्ध रहेको छ। त्यस्तै, सोही गाउँपालिकाको वडा नम्बर ८ चारसयवेशीमा पनि पहिरोको कारण सडक पूर्णरुपमा बन्द रहेको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका ८ मा पहिरो गएको कारण कान्तिलोकपथको बाटो पूर्णरुपमा बन्द भएको छ। काभ्रेको पाँचखाल गाउँपालिका ५ हनुमानगढी केराघारीमा पनि पहिरोको कारण सडक अवरुद्ध छ।

त्यस्तै, रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ मा पहिरो गएको कारण रामेछाप र खुर्कोट सडक असोज १२ गतेदेखि बन्द रहेको छ। बझाङको जयपृथ्वी राजमार्ग पनि पहिरोले अवरुद्ध रहेको छ।

काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य सडकहरुमा पहिरो र बाढीको कारण अवरुद्ध भए पनि यात्रुहरु दसैंको लागि घर फर्किने क्रम बढेको छ। असोज १४ गतेदेखि करिब ६ लाख मानिस काठमाडौं उपत्यकाबाट बाहिरिसकेका छन्। सोमबार मात्र १ लाख भन्दाबढी मानिस बाहिरिएका थिए।