दसैंको मुखमा चीनबाट सामान आउन बन्द, केरुङतर्फको सडक बनाउन कम्तीमा एक महिना लाग्ने



बिजमाण्डू
२०८१ असोज १६ गते १६:३८ | Oct 2, 2024
दसैंको मुखमा चीनबाट सामान आउन बन्द, केरुङतर्फको सडक बनाउन कम्तीमा एक महिना लाग्ने

काठमाडौं। दसैंको मुखमा नेपालमा चीनबाट सामान आउन बन्द भएको छ। केरुङ-रसुवागढी सडक पहिरोले क्षतिग्रस्त भएपछि सामान आउन बन्द भएको हो।

Tata
GBIME
Nepal Life

चिनियाँ अधिकारीले रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाललाई फोन गरेर सडक बनाउन कम्तीमा एक महिना लाग्ने बताएका छन्। रसुवागढीबाट करिब ८ किलोमिटर अगाडिको सडक सुक्खा पहिरोले कामै नलाग्ने भएको छ। सडक पूरै भत्किएका कारण चिनियाँ अधिकारीले बनाउन लामो समय लाग्ने जानकारी गराएको खनालले बिजमाण्डूलाई बताए।

‘रसुवागढी र केरुङको बीचमा पहिरोले सडक भत्किएकाले सामान लिन नपठाउनु भनेर केरुङ प्रशासनबाट खबर आएको छ। उनीहरुले सडक पूरै खसेकाले बनाउन महिना दिन जति लाग्छ भनेका छन्,’ उनले भने।

चीनबाट सामान आयात गर्ने मुख्य नाका रसुवागढी हो। यो नाकाबाट व्यापारीहरुले फलफुल, लत्ताकपडा, विद्युतीय गाडी लगायत आयात गर्ने गरेका छन्। नेपाली व्यवसायीले मगाएका सामान बोकेका कति कन्टेनर केरुङको सडकमा पहिरोका कारण अड्किएका छन् भन्ने बारेमा भने यकीन तथ्यांक नरहेको प्रजिअ खनालले बताए।

केरुङतर्फको सडक भत्किएका कारण कम्तिमा एक महिनाका लागि त्यताबाट सामान आयात नहुने भएको छ। चीनबाट सामान ल्याउने अर्को नाका तातोपानी सडक अवरुद्धका कारण बन्द छ।

त्यसो त रसुवा भन्सारमा आइपुगेका सामान नै व्यवसायीले काठमाडौं ल्याउन सकिरहेका छैनन्। रसुवागढीबाट यताको सडकका ठाउँ ठाउँमा पहिरो र बिजुली गएका कारण भन्सारले सामान जाँचपास नगर्दा व्यवसायीले ल्याउन नसकेका हुन्।

‘सडकमा ठाउँ ठाउँमा पहिरो छ। तर, आवतजावत नै गर्न नमिल्ने गरी बाटो बिग्रिएको होइन। विद्युत आपूर्ति भएर भन्सारले जाँचपास गराएपछि हामी विस्तारै गाडी पठाउँछौं,’ प्रजिअ खनालले भने।

प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार भन्सार हातामा अहिले २०० कन्टेनर छन्। भन्सारमा रोकिएका सामानमध्ये १५० विद्युतीय गाडी हुन्। भट्टराईले विद्युत उपलब्ध नरहेकाले भन्सार जाँचपास गर्न नपाएको बताए।