संकटका बेला सेयर बजारमा उछाल, एकाएक ११४.७० अंकले बढ्नुको कारण के?

सुनिल कुँवर
२०८१ असोज १५ गते १५:०८ | Oct 1, 2024
संकटका बेला सेयर बजारमा उछाल, एकाएक ११४.७० अंकले बढ्नुको कारण के?

काठमाडौं। सेयर बजारमा एकाएक उछाल आएको छ। बाढी पहिरोले जलविद्युत आयोजनामा क्षति पुग्नुका साथै राजमार्गहरु अवरुद्ध भएर देश नै संकटबाट गुज्रिरहेका बेला सेयर बजार परिसूचक मंगलबार ११४.७० अंकले बढेको छ।

Tata
GBIME

नेप्से २६२३.५६ विन्दुमा पुगेको छ। १३ वटै उपसमूहले नेप्से बढाएका हुन्।

२६ वटा जलविद्युत आयोजनामा बाढी पहिरोले अढाइ अर्बभन्दा बढीको क्षति पुर्‍याएको तथ्यांक सरकारले नै सार्वजनिक गरिरहँदा जलविद्युत उपसमूहको सूचक नै ५.९८ प्रतिशतले उकालो लागेको छ।

फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ९.७४ प्रतिशतले बढेको छ। जबकि फाइनान्स कम्पनीले लगानीकर्तालाई खुशी तुल्याउने कुनै प्रगति गरेका छैनन्। डेढ महिनाअघि ३००० विन्दुमा पुगेर नेप्से ओरालो लाग्दा सबैभन्दा धेरै गुमाउनेमा फाइनान्सका लगानीकर्ता थिए।

साउन अन्तिममा ३,००० विन्दुमा पुगेर त्यसपछिको डेढ महिनामा २५०० विन्दुबाट ओर्लिएको नेप्सेले मंगलबार एकाएक फड्को मारेको हो।

असोज ११ देखि १३ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी पहिरोमा परी सवा २०० नागरिकको मृत्युमा देश शोकमा रहँदा नेप्सेमा ठूलो उत्साह देखिएको हो। त्यसो त यसअघि पनि यस्तै संकटका बेला नेप्से बढेको उदाहरण छ। २०७२ वैशाखको भूकम्प र २०७७ मा कोभिडले निम्त्याएको संकटका बेला पनि नेप्सेले यसैगरी छलाङ हानेको थियो।

मंगलबार २४३ कम्पनीका लगानीकर्ताले कमाउँदा २५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। गुमाउनेमा युनिलिभर नेपालका लगानीकर्ता छन्। यो कम्पनीको सेयर भाउ प्रति कित्ता ४१० रुपैयाँले सस्तिएको छ।

बजारमा ७ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको सेयर किनबेच भएको छ। सबैभन्दा धेरै सेयर किनबेच हुनेमा एनएलजी इन्स्योरेन्स छ। यो कम्पनीको २८ करोड ८२ लाख ८३ हजार रुपैयाँको कारोबार भएको हो।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सार्वजनिक निष्कासनको स्वीकृति दिन थालेको र कतिपय कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने हल्लाका कारण बजार उचालिएको जानकारहरु बताउँछन्। ‘सेबोनले हकप्रद सेयर निष्कासनको स्वीकृति दिएको छ। अझै धेरै कम्पनीको हकप्रद आउने हल्लाले बजार उचालिएको हो,’ एक ब्रोकरले भने, ‘त्यस्तै सेबोनले अन्य आइपीओ लगायत सार्वजनिक निष्कासनको स्वीकृति थालेका कारणले पनि लगानीकर्ता रिभर्स भएको देखिन्छ।’

सेबोनले सोमबार दुई इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर निष्कासन स्वीकृति गरेको थियो।

ती ब्रोकरका अनुसार केही ठूला लगानीकर्ता दसैंअघि बजार बढाउनुपर्छ भनेर लागेको परिणाम पनि नेप्सेमा उछाल आएको हो। ‘केही ठूला लगानीकर्ता दसैंअघि बजार बढाउनुपर्छ भनेर लागेका छन्। यो अर्को कारण हो। यस्तै उधारो कारोबारको रकम पनि सेटल हुन थालेकाले पनि बजार बढेको हो,’ उनले भने।

स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले नेप्से यसअघि बिनाकारण ५०० अंकभन्दा धेरैले घटेकाले अहिले बढेको बताए। ‘बजार यसअघि करेक्सनविनै ३००० सम्म पुग्यो र एकाएक बिनाकारण लगातार ५०० अंक भन्दा धेरैले घट्यो। त्यसरी घट्नुपर्ने कारण नै थिएन। त्यसैले अहिले बढेको हो। यसलाई सामान्य मान्नुपर्छ,’ उनले भने।