काठमाडौं। गृहमन्त्री रमेश लेखकले आफ्नै पार्टीका सांसदले समेत आलोचना गरेपछि सरकारलाई घेराबन्दी गर्ने काम नगर्न आग्रह गरेका छन्।
उनले मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा स्रोत साधनको कमीका कारण सरकारले आवश्यकता अनुसार बाढी पहिरोमा परेकाहरुको समयमै उद्धार गर्न नसकेको भन्दै घेराबन्दी नगर्न भनेका हुन्। ‘सरकारलाई घेर्ने बेला पनि यही हो भनेर मात्र जानु भएन,’ उनले भने।
उनले नख्खु खोलामा उद्धारका लागि गुहार मागिरहेकाहरुलाई बचाउन आफूले हेलिकोप्टर परिचालन गर्न चाहे पनि नेपाली सेनाले नमानेको बताए।
‘सेनाका मान्छेले भिजिबिलिटी छैन भनेर हेलिकोप्टर उडाउन सकिँदैन भने। अब मैले अनुमान गरेर उडाउनुस् कसरी भन्ने?,’ उनले भने।
त्यसअघि समितिका सदस्यहरुले उनको चर्को आलोचना गरेका थिए। कांग्रेसकै सांसदहरुले उद्धारमा सरकार चुकेको र नख्खु घटनाको जिम्मा लिनुपर्ने बताएका थिए।
गृहमन्त्री लेखकले नख्खु खोलामा फसेकाहरुलाई प्रहरीले बचाउन प्रयास गरेको तर डुङ्गा पल्टिएका कारण सफल नभएको जवाफ दिए।











