नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र पनि सेयर जस्तै दोस्रो बजारमा किनबेच गर्न पाइने



बिजमाण्डू
२०८१ असोज १० गते ०८:०१ | Sep 26, 2024
नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र पनि सेयर जस्तै दोस्रो बजारमा किनबेच गर्न पाइने
फाइल फोटो।

काठमाडौं। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आन्तरिक ऋण (निष्कासन तथा व्यवस्थापन) कार्यविधि, २०८१ जारी गर्दै नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र पनि दोस्रो बजारमा कारोबार गर्न सकिने व्यवस्था गरेको छ। यससँगै अब पुँजीबजारमा हुने सेयर कारोबार जस्तै बचतपत्र पनि खरिदबिक्री गर्न सकिने व्यवस्था कार्यान्वयनमा आएको हो।

Tata
GBIME
Nepal Life

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबार ‘ऋण संचालन तथा व्यवस्थापन सफ्टवेयर (डोम्स)’ र इन्भेष्टर पोर्टलमार्फत् गर्न सकिने व्यवस्था कार्यविधिमा राखिएको छ।

धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले संचालनमा ल्याएको अनलाईन कारोबार प्रणाली जस्तै नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्र वा अन्य खालका ऋणपत्रको निष्कासन तथा संचालनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘डोम्स’ र ‘इन्भेष्टर पोर्टल’ कार्यान्वयनमा ल्याएको हो।

सरकारले आन्तरिक ऋण उठाउनका लागि प्रयोग गर्ने अर्को उपकरण ‘ट्रेजरी बिल्स’ को दोस्रो बजार कारोबार पनि ‘डोम्स’ मार्फत् गर्न सकिनेछ तर विकास ऋणपत्रको दोस्रो बजार कारोबार भने निष्कासनपछि सूचीकरणका लागि नेप्सेमा पठाइने र नेप्सेमा सूचीकृत दलाल (ब्रोकर) कम्पनीमार्फत् कारोबार गर्न सकिने व्यवस्था गरिएको छ।

आन्तरिक ऋण उठाउनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले स्वीकृत गरेको वार्षिक कार्यतालिका तथा निष्कासन तालिकाअनुसार नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला, बन्द तथा निष्कासन गरिनेछ। गैरआवासीय नेपालीले पनि नागरिक बचतपत्र खरिद गर्न सक्नेछन्।

‘नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्र खरिद गर्न चाहने व्यक्तिले पहिलोपटक इन्भेष्टर पोर्टलमा तोकिएको ढाँचामा विवरणहरू प्रविष्टि गरी रजिष्टर गरेर युजरनेम तथा पासवर्ड प्राप्त गर्न सक्नेछन्,’ कार्यविधिमा भनिएको छ।

यस्तो बचतपत्र निष्कासन गर्दा तोकिएको अवधिभित्र पहिलो निवेदकले पहिले पाउने प्रक्रियाबाट बाँडफाँट गरिने पनि कार्यविधिमा उल्लेख छ।

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको ब्याज अर्धवार्षिक रूपमा सोझै खरिदकर्ताको बैंक खातामा जम्मा गरिनेछ। कार्यविधिमा यस्ता बचतपत्रको लागि निर्धारित ब्याजको हिसाब गर्दा ३० दिनको एक महिना र ३ सय ६० दिन बराबरको एक वर्ष मानी गणना गर्नुपर्ने व्यवस्था गरिएको छ।

ब्याज भुक्तानी हुने मितिको एक कार्यदिन अगाडिदेखि भने दोस्रो बजार कारोबारबाट बचतपत्रको स्वामित्व हस्तान्तरण गर्न पाइने छैन।

नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूलाई सरकारी ऋणपत्र तथा बचतपत्रको कारोबारका लागि बजार निर्माताका रूपमा इजाजत दिइनेछ। यस्तै, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट जारी हुने बचतपत्रको बिक्री एजेन्टका रूपमा निश्चित प्रकृतिका कम्पनीलाई इजाजतपत्र दिन सकिने व्यवस्था पनि कार्यविधिमा राखिएको छ।

‘कार्यालयले बैंकबाट विप्रेषणको लागि इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था, रेमिट्यान्स कम्पनी र मनी ट्रान्सफर कम्पनीले बिक्री एजेन्टका रूपमा कार्य गर्न चाहेमा इजाजत दिन सक्नेछ,’ कार्यविधिमा भनिएको छ। रासस