काठमाडौं । तीन वर्षअघि कर्जाको ब्याजदर एकल अंकमा आउँदा सेयर बजारले रेकर्ड कायम गर्यो। २०७८ भदौमा नेप्से परिसूचकले कीर्तिमान बनाउँदा कर्जाको औसत ब्याजदर ८.४८ प्रतिशत थियो। प्रणालीमा रहेको उच्च तरलताको सकारात्मक प्रभाव सेयर बजारमा देखियो।
नेप्सेले तीन वर्षअघि बनाएको ३१९८ अंकको रेकर्ड अहिलेसम्म तोडिएको छैन। त्यतिखेर सेयर धितो कर्जा प्रवाह निकै उकालो लागेको थियो।
त्यसपछि ऋण प्रवाहमा नियामकको कडाइसँगै तरलताको समस्या जसरी बढ्दै गयो, सेयर बजारमा हरियाली टिकेन। बजार राताम्मे भयो। २०७९ फागुनमा आइपुग्दा वाणिज्य बैंकको कर्जाको औसत ब्याजदर १३.०३ प्रतिशतसम्म पुग्यो। त्यतिखेर बजार १९५३ विन्दुमा झर्यो।
अहिले बैंकको ब्याजदर तीन वर्षयताकै न्यून विन्दुमा आएको छ। वाणिज्य बैंकको कर्जाको ब्याजदर एकल अंकमा छ। असार मसान्तमै कर्जाको ब्याज औसतमा ९.९३ प्रतिशतमा झरेको थियो। अहिले बैंकहरुले ८ प्रतिशत ब्याजदरमा कर्जा दिइरहेका छन्।
ब्याजदर सस्तिएसँगै सेयर बजारमा सकारात्मक प्रभाव परेको छ। ब्याजदर निरन्तर घट्दा सेयर बजार उकालो लागिरहेको छ। असार मध्यसम्म २ हजार विन्दुमा रहेको नेप्से साउन मसान्तमा आइपुग्दा ४६ प्रतिशतले वृद्धि भएर ३ हजार विन्दुसम्म पुग्यो। त्यसदिन २९ अर्ब ९५ करोड रुपैयाँको कीर्तिमानी कारोबार भयो।
ब्याजदर बढ्दा बजार घट्ने र ब्याजदर घट्दा बजार बढ्ने गरेको छ। ब्याजदर घट्न थालेपछि निक्षेपको रकम सेयर बजारतिर डाइभर्ट हुने गरेको विश्लेषकहरु बताउँछन्। त्यही भएर ब्याजदर घट्नुलाई बजारको अनुकूल मानिन्छ। यसपटक पनि पुरानै प्रवृत्ति बजारमा देखिएको छ।
चालु आर्थिक वर्ष दुई महिनामा अधिकांश बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन्। त्यसैले कर्जाको ब्याजदर अझै सस्तिने देखिन्छ।
‘व्यक्तिगत निक्षेप, अनौपचारिक क्षेत्र लगायत केही मार्जिन ल्यान्डिङबाट पनि साउनमा सेयर बजारमा पैसा आएको देखिन्छ,’ एनएमबी क्यापिटलका सीइओ दिपेशकुमार वैद्यले भने, ‘ब्याजदरले बजारमा फेबर नै गरेको देखिन्छ। तर, बजार एकैपटक बढ्दा घट्न पुग्यो। मार्जिन ल्यान्डिङ नबढेको भने होइन। तर, ब्याजदर घटे अनुसार ऋणको माग भएको देखिंदैन।’
नेप्से भदौ लागेपछि असोज दोस्रो सातामा आइपुग्दा ५०० ले घटेर २४०० अंकमा झरेकोमा पछिल्लो समय फेरि उकालो लागिरहेको छ। नेप्से अहिले २६९०.७२ विन्दुमा छ। आइतबार ५६ अंकले बढेको नेप्से सोमबार ३७ अंकले उकालो लाग्यो। ५ अर्बबाट झरिसकेको कारोबार रकम पनि ७ अर्ब नाघ्न थालेको छ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा प्रवाहमा लिएको खुकुलो नीतिले ऋण लगानी बढेको देखिन्छ। राष्ट्र बैंकले संस्थागत लगानीकर्तालाई सेयर धितो कर्जामा लगाएको २० करोड रुपैयाँको सीमा साउन दोस्रो साता खारेज गरेको थियो।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष साउन मसान्तसम्म आइपुग्दा सेयर धितो कर्जा ९१ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। यो रकम गत असार मसान्तको भन्दा १.४९ प्रतिशत धेरै हो। बैंक तथा वित्तीय संस्थाहरुले साउनमा १ अर्ब ३५ करोड रुपैयाँ मात्र सेयर धितो कर्जा लगानी गरेका थिए।
‘ब्याजदर र सेयर बजारको सम्बन्ध उल्टो हुन्छ। जब ब्याजदर घट्छ त्यसपछि बजार बढ्न थाल्छ, जब ब्याजदर बढ्छ त्यसपछि बजार घट्छ,’ गरिमा सेक्युरिटीजका रुपेश थापाले भने।
ऋणको माग नभएकाले लागत कम गर्न बैंकहरुले निक्षेपको ब्याजदर निरन्तर घटाउँदै आएकाले कर्जा अझै सस्तिने र निक्षेपको रकम समेत सेयर बजारमा आउने कतिपय विश्लेषकको बुझाइ छ।
‘निक्षेपको ब्याज सस्तो हुँदा लगानीकर्ताले लगानीको वैकल्पिक उपकरण खोज्छ। त्यो रकम सेयर बजारतिर समेत लगानी हुन्छ,’ एक विश्लेषकले भने, ‘त्यसैले कारोबार र बजार वृद्धिको विषय ब्याजदर घटबढसँग जोडिएको हुन्छ।’











