कोरियन कम्पनी हुन्डाई र अमेरिकी कम्पनी जीएम मिलेर इभी उत्पादन गर्ने



बिजमाण्डू
२०८१ भदौ २८ गते १०:०० | Sep 13, 2024
कोरियन कम्पनी हुन्डाई र अमेरिकी कम्पनी जीएम मिलेर इभी उत्पादन गर्ने

काठमाडौं । दक्षिण कोरियाको गाडी उत्पादक कम्पनी हुन्डाई र अमेरिकाको कम्पनी जनरल मोटर्स (जीएम) मिलेर विद्युतीय गाडी (इभी) उत्पादन गर्ने भएका छन्।

Tata
GBIME
Nepal Life

हुन्डाई र जीएमले लागत घटाउन र तीब्र रुपमा अटो बजारमा अगाडि बढ्नको लागि मिलेर काम गर्न लागेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यी कम्पनीहरु नयाँ सवारी साधनको उत्पादन र प्रविधिको आदानप्रदान गरेर सँगै काम गर्न सहमत भएका हुन्

हुन्डाई र जीएमले बिहीबार संयुक्त रुपमा गाडीको उत्पादन गर्न र भविष्यमा स्वच्छ ऊर्जा प्रविधिहरूमा सहकार्य गर्न सहमति गरेका हुन्। ‘गैर-बाध्यकारी’ भनिएको सम्झौतामा हुन्डाई मोटरका कार्यकारी अध्यक्ष इयुसुन चुङ र जीएम चेयर एण्ड सीईओ मेरी बार्राले हस्ताक्षर गरेका छन्।

विश्वव्यापी कार निर्माताहरू नयाँ इभी र ब्याट्री टेक्नोलोजीको साथ आउन तीव्र दबाबमा छन्। किनभने उनीहरूले संसारभरि सवारी साधनबाट हुने कार्बन उत्सर्जनका लागि तयार पारिएको नियमहरूको सामना गरिरहेका छन्। त्यसैले विद्युतीय गाडीमा रुपान्तरणका लागि अनुसन्धान र विकास गर्न उनीहरुले करोडौं डलर खर्च गरिरहेका छन्।

कोरियन र पश्चिमा देशका अटो व्यवसायीहरुले अहिले चिनियाँ अटोमेकरसँग प्रतिस्पर्धा गर्न परिरहेको छ। चिनियाँ इभीका कारण उनीहरुको बजार हिस्सा खुम्चिदै गइरहेको छ। यस्ता कम्पनीहरुले घरेलु बजारमा ठूलो ‘ओभर सप्लाई’ समस्याबाट बच्न कम लागतका गाडीहरू विदेशमा निर्यात गर्ने प्रयास गरिरहेका छन्।

रोयटर्सका अनुसार किया सहित, हुण्डाई गाडी बिक्रीको आधारमा विश्वको तेस्रो ठूलो अटोमेकर हो। जबकी जीएम हाल अमेरिकाको सबैभन्दा ठूलो कार निर्माता हो, जसले २०२२ मा टोयोटाबाट उक्त उपाधि पुनः प्राप्त गरेको थियो।

अटोमोटिभ उद्योगमा साझेदारी सामान्य मानिन्छ। गत वर्ष, निसान र रेनोले आफ्नो परिमार्जित साझेदारीका लागि सर्तहरुलाई अन्तिम रुप दिएका थिए। उनीहरु पनि इभीकै विकासमा लागेका छन्।