नेपाल भारत सम्बन्धमा क्रिकेट कूटनीति, आरजुको दिल्ली यात्राले पार्ला प्रभाव ?



मुकुन्द घिमिरे
२०८१ भदौ ६ गते १३:३५ | Aug 22, 2024
नेपाल भारत सम्बन्धमा क्रिकेट कूटनीति, आरजुको दिल्ली यात्राले पार्ला प्रभाव ?
परराष्ट्रमन्त्री आरजु राणा भारतीय विदेशमन्त्री एस जयशंकरसँग

काठमाडौं। नेपाली क्रिकेट टोली यतिबेला भारतको बेङ्ग्लोरस्थित नेसनल क्रिकेट स्टेडियममा अभ्यासरत छ। त्यहाँ नेपाली खेलाडीले भारतीय क्रिकेट हस्तीहरुबाट राम्रै एक्सोपजर पाइरहेको नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो सामाजिक सञ्जालबाट देखाउन खोजिरहेको छ।

Tata
GBIME
Nepal Life

भारतीय क्रिकेट टोलीका पूर्वमुख्य प्रशिक्षक राहुल द्रविड र नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाइ केही दिनअघि मैदानमा सँगै देखिए। त्यस्तै, क्यानको अर्को पोस्ट अनुसार भारतीय पेसर मोहम्मद शामीले मैदानमा नेपाली खेलाडीलाई ‘टिप्स’ दिइरहेका थिए।

‘यो नौलो सम्बन्ध मात्र क्यानको कार्यसमितिका कारण मात्र होइन,’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सोमबार नेपाल प्रिमियर लिग (एनपीएल)को लोगो अनावरण कार्यक्रममा भने, ‘भारतीय विदेशमन्त्री एस जयशंकरले क्यानका पदाधिकारी र खेलाडीलाई बोलाएर सहयोगको वातावरण बनाउन पहलकदमी लिनु भएको थियो। उहाँ र भारतीय राजदूतावास जो नेपाली क्रिकेटलाई कसरी सपोर्ट गर्न सकिन्छ भनेर लागिरहे उसलाई यो मञ्चबाट धन्यवाद दिन चाहन्छु।’

क्यान अध्यक्ष चन्दले यो मन्तव्य राख्दै गर्दा परराष्ट्रमन्त्री आरजु राणा भारत भ्रमणमा थिइन्।

भारतीय बलर मोहम्मद शामीसँग नेपाली क्रिकेट टोलीका प्रशिक्षक र खेलाडीलगायत। तस्बिर : क्यान

नेपाली टोली क्रिकेट विश्वकप लिग-२ अन्तर्गत क्यानडा सिरिजको तयारीका लागि भारत पुगेको हो। क्यानका प्रवक्ता छुम्बी लामा भारतमा नेपाली टोलीको अहिलेको ट्रेनिङलाई ऐतिहासिक मान्छन्। क्यानले बीसीसीआईसँग सिधै समन्वय गरेर हात पारेको यो पहिलो अभ्यास भएको उनले बताए।

‘नेपाल क्रिकेट संघले पहिलो पटक बीसीसीआईसँग अफिसियल समन्वय गरेर अभ्यास गरिरहेको हो,’ उनले भने।

क्यानले आफ्नो आधिकारिक पेजमा बीसीसीआईका सचिव जय साहलाई मेन्सन नै गरेर सहकार्यका लागि धन्यवाद दिएको छ।

त्यस्तै नेपालले आयोजना गर्न लागेको एनपीएलको लोगो सार्वजनिक गर्ने क्रममा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यान अध्यक्ष चन्द र सचिव पारस खड्काले भारतीय सहयोगको चर्चा गर्न भ्याए।

‘आईसीसी र एसीसीले पछिल्लो समय नेपाललाई नजिकबाट हेरिरहेका छन्। सहयोग पनि गरेका छन्। धेरै खाले सहयोगको प्रतिबद्धता आएको छ,’ क्यानका अध्यक्ष चन्दले भने, ‘बीसीसीआईको सहयोगमा नेपाली टोली बेङ्ग्लोरमा छ। नौलो किसिमको सम्बन्ध सुरु भएको छ, विश्व क्रिकेटको महारथी बीसीसीआईसँग।’

बेङ्ग्लोरमा अभ्यासरत नेपाली खेलाडी। तस्बिर : क्यान

जयशंकरले अघि बढाएको क्रिकेट कूटनीति

पछिल्लो पटक नेपाली टोलीले एसिया कपबाट धेरैको ध्यान तान्यो। अघिल्लो वर्ष एकदिवसीय फर्म्याटको प्रतियोगितामा नेपालले पहिलो पटक भारत र पाकिस्तानविरुद्ध खेल्यो। पराजय ब्यहोरे पनि सम्मानजनक खेलका कारण नेपालले प्रशंसा बटुल्यो।

सम्बन्धित समाचार: भारतीय विदेशमन्त्री जयशंकरको क्रिकेट कुटनीति, २५ मिनेटको भेटमा क्यानका पदाधिकारीलाई के भने?

एसिया कपपछि भारतीय विदेशमन्त्री जयशंकरले नेपालसँगको सम्बन्धमा क्रिकेटलाई कूटनीतिका रुपमा राम्ररी प्रयोग गरे।

गत वर्ष पुस तेस्रो साता जयशंकर नेपाल आएका थिए। व्यस्त कार्यतालिकाकाबीच उनले क्यानका अध्यक्ष, उपाध्यक्ष, सचिव लगायत पदाधिकारी र टोलीका सिनियर खेलाडीसँग २५ मिनेट लामो भेट गरे।

भेटपछि क्यानका अध्यक्ष चन्दले जयशंकरले भारतबाट कस्तो सहयोगको अपेक्षा छ भनेर सोधेको बताएका थिए।

क्यान पदाधिकारी र खेलाडीसँग भारतीय विदेशमन्त्री एस जयशंकर। तस्बिर : क्यान

त्यसबेला कोचिङ स्टाफदेखि खेल पूर्वाधार र अभ्यासको अवसरसम्मको चर्चा भएको थियो। जयशंकरले क्यानलाई प्रपोजल बनाएर भारतीय राजदूतावासमार्फत पठाउन भनेका थिए। क्यानले भने अनुसार नै गर्‍यो।

त्यसपछि क्यानले बीसीसीआईसँग सिधा सम्पर्क बनायो। जनवरीको अन्त्यमा एसीसीको साधारण सभामा सहभागी हुन क्यान अध्यक्ष चन्द र खड्का इन्डोनेसियाको जकार्ता पुगे। त्यहाँ उनीहरुले बीसीसीआईका सचिव जय साहसँग सम्वाद गरे।

साहले चन्दलाई बीसीसीआईबाट क्यानको के अपेक्षा छ? भनेर सोध्नुका साथै छलफलका लागि दिल्ली बोलाएको स्रोतको हवाला दिँदै भारतीय सञ्चार संस्था पीटीआईले जनाएको थियो।

त्यतिबेला भारतले नेपाललाई अफगानिस्तानलाई जस्तै स्टेडियम दिने चर्चा भारतीय सञ्चारमाध्यमले गरेका थिए। त्यो नभए पनि हाल नेपाली टोलीले भारतमा अभ्यास गरिरहेको छ। यसअघि नेपाली टोलीले भारतका रणजी टोलीहरुसँग अभ्यास खेल खेलेको थियो।

आरजुको खेल कूटनीति !

परराष्ट्रमन्त्री आरजु राणाले बिहिबार भारत भ्रमण सम्पन्न गरेकी छन्। ५ दिने भ्रमणका क्रममा उनले जयशंकरदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्मलाई भेटिन्।

नेपालस्थित भारतीय राजदूतावासको विज्ञप्ति अनुसार राणा र जयशंकरबीच व्यापार, लगानी, कनेक्टिभिटी, हवाइ रुट, खेलकुद र पूर्वाधारका विषयमा छलफल भयो।

सम्बन्धित समाचार : जयशंकरपछि जय शाहसँग भेटले क्रिकेट संघ उत्साही, बीसीसीआईले गर्ला सहयोग?

नेपाली क्रिकेटमा पहिल्यै चासो दिइसकेका जयशंकरसँगको छलफलमा राणाले खेल पूर्वाधारमा लगानीका लागि प्रस्ताव गरेको आशयको अभिव्यक्ति युवा तथा खेलकुदमन्त्री चौधरीले दिएका छन्।

‘परराष्ट्रमन्त्री भारत जानु भएको छ। जनकपुर रंगशालाको कागजपत्र हामीले पठाएका छौं। धनगढीको फाप्ला रंगशाला डीपीआर तयार भएर भारत सरकारको सहयोगमा अघि बढ्ने तयारीमा छ,’ चौधरीले सोमबार एनपीएलको लोगो अनावरण कार्यक्रममा भनेका थिए।