महानगरको श्रम बैंकमार्फत ९ सय ११ जनालाई रोजगारी, फाराम भरेकाले तालिम पाउने

बिजमाण्डू
२०८१ साउन १ गते ०८:५२ | Jul 16, 2024
महानगरको श्रम बैंकमार्फत ९ सय ११ जनालाई रोजगारी, फाराम भरेकाले तालिम पाउने


काठमाडौं। काठमाडौं महानगरपालिकाको श्रम बैंकमार्फत ९ सय ११ जनाले रोजगारी पाएका छन्। ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जनालाई महानगरका विभिन्न विभागहरूमा रोजगारी उपलब्ध गराइएको महानगरपालिकाले जनाएको हो।

Tata
GBIME
NLIC

रोजगारी प्रवर्धनका लागि ३ वर्षको कार्ययोजना बनाएको महानगरपालिकाले कम्तीमा १५ हजार जनालाई तालिम तथा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्य राखेको छ। यसका लागि गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि’ तथा ‘श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको छ।

आर्थिक वर्ष २०८०/८१ मा सीप मेला-२०८१ मार्फत २ हजार ५ सय ५५, महानगरको तालिम केन्द्रहरुमार्फत १ हजार ४सय ६७ र अनलाइनमार्फत २ हजार गरि जम्मा ६ हजार २२ जनाले तालिम लिएको महानगरपालिकाले उल्लेख गरेको छ।

श्रम बैंकमार्फत दक्ष ४ सय ५५, अर्ध-दक्ष ३८ जना र अदक्ष ४ सय १८ गरि जम्मा ९ सय ११ जनाले रोजगारी पाएका छन्। महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८ सय जना युवा  रोजगार/स्वरोजगार भएका छन्। महानगरको सानो प्रयासले एउटै आर्थिक वर्षमा १ हजार ७ सय जनाभन्दा बढी रोजगार/स्वरोजगार भएका छन्।

आर्थिक वर्ष २०८१/८२ मा दुवै योजनाहरूलाई थप परिस्कृत गरि लक्ष्यभन्दा अधिक उपलब्धि हासिल हुने गरि बजेट तथा कार्यक्रमहरु तयार गरेको र सीप मेलामा फाराम भरेका सबैलाई तालिकाअनुसार तालिम उपलब्ध गराउने जनाइएको छ।

फाराम भरेकाहरुले समय र स्थान एसएमएसमार्फत जानकारी पाउने छन्। कसैको पनि व्यवसाय, संघ संस्था कार्यालयका लागि सीपयुक्त दक्ष जनशक्ति आवश्यक परेमा काठमाडौं प्लाजास्थित महानगरको श्रम बैंक वा वेबसाइटमा भएको लिंकमार्फत सम्पर्क गरी सेवा लिन सक्ने व्यवस्था मिलाइएको महानगरले जनाएको छ।