
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १०औं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु भएको छ। आजदेखि पाँच दिनसम्म प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनले २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्नेछ।
महाधिवेशनको पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका छन्। महाधिवेशनमा प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत विभिन्न दलका नेताहरु सहभागी छ।

महाधिवेशनको अवसरमा आज राजधानीमा सो पार्टीका नेता तथा कार्यकर्ताले र्याली निकालेका थिए। देशभरबाट एक हजार ८४९ प्रतिनिधि काठमाडौं आएका छन्।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट करिब तीन वर्षअघि विभाजन भएर गठन गरिएको पार्टीले यो महाधिवेशनलाई १०औं राष्ट्रिय महाधिवेशनका रूपमा दाबी गरेको छ। विसं २००६ मा कोलकातामा स्थापना भएको कम्युनिष्ट पार्टीको राजनीतिक उत्तराधिकारी मानेको एकीकृत समाजवादी पार्टीले हालसम्म सम्पन्न भएका नौवटा अधिवेशनको स्वामित्व लिएर यो राष्ट्रिय महाधिवेशनलाई १०औँ मानेको हो।














