चितवनमा धान दिवस: प्रधानमन्त्री दाहाल भन्छन्- सिँचाइ, बीउ एवं मल सहज हुनेछ

बिजमाण्डू
२०८१ असार १५ गते १२:२० | Jun 29, 2024
चितवनमा धान दिवस: प्रधानमन्त्री दाहाल भन्छन्- सिँचाइ, बीउ एवं मल सहज हुनेछ


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनमा शनिबार आयोजित धान दिवसको कार्यकर्ममा सहभागी भएका छन्। मुलुकलाई धानमा मात्र होइन खाद्यान्नमा पनि आत्मनिर्भर बनाउन सरकार लागिपरेको उनले बताए।

Tata
GBIME
NLIC

भरतपुर महानगरले आयोजना गरेको २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा उनले उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउनेगरी सरकारले कृषि दशक कार्यक्रम अघि बढाएको स्पष्ट पारे। सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा कृषि दशक कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै उनले सिँचाइ, बीउ एवं मल सहज रुपमा उपलब्ध गराउने र यान्त्रिकीकरण गरेर धानमा आत्मनिर्भर हुन सकिने बताए।

२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव अवसरमा शनिबार रत्ननगरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल , कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह, वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललगायत। तस्बिर : रासस

धानबाली देशको रणनीतिक बाली भएको उल्लेख गर्दै उनले तीन वटै तहका सरकारलाई नेपाल सरकारले लिएका नीतिहरूको सफल कार्यान्वयनका लागि आह्वान गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले दुग्ध किसानलाई अनुदान उपलब्ध गराउने, कृषि प्रवर्धन गर्ने र रोजगारी सिर्जनाका कार्यक्रम अघि बढाएको बताए। भरतपुर महानगरका प्रमुख रेणु दाहालले चितवनका सबै कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ उपलब्ध गराउने व्यवस्था मिलाइने बताइन्।

कृषकमैत्री कार्यक्रम कार्यान्वयन गरी उत्पादकत्व बढाउने उल्लेख गर्दै उनले खाद्यान्नमा चितवनलाई आत्मनिर्भर बनाउन क्रियाशील रहेको भनाइ राखिन्।

शनिबार रत्ननगरमा मेसिनको सहायताले धान रोप्दै प्रधानमन्त्री पुष्पकमल दाहाल । तस्बिर : रासस