
काठमाडौं। संघीय संसदका कर्मचारीहरु आज पनि आन्दोलनमा उत्रिएका छन्। अतिरिक्त समय भत्तादेखि घरभाडा सुविधाको समेत माग गर्दै उनीहरुले आन्दोलन गरिरहेका छन्।
संसद प्रवेश गर्ने लबीमै बसेर उनीहरुले विरोध जनाइरहेका छन्। हालमा कालोपट्टी बाँधेर उनीहरुले माग पूरा हुनुपर्ने भन्दै कार्यालय समयमै आन्दोलन गरेका हुन्।

चालु वर्षको बजेटमा अतिरिक्त समय भत्ताका लागि बजेट नै छैन। एक वर्षअघि तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यमार्फत चालु खर्च कटौतीका लागि सबै प्रकारका प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेजीको घोषणा गरेका थिए।

भत्ता दिनका लागि संसद्का कर्मचारी अरु निजामती कर्मचारीभन्दा कुनै पनि कोणबाट फरक होइनन्। तैपनि, संसद्का कर्मचारीले अहिले नै अरु निजामती कर्मचारीले भन्दा थप सुविधा पाइरहेका छन्।
निजामती कर्मचारीले आवास भत्ता, शैक्षिक भत्ता लगायत सुविधा पाउने व्यवस्था छैन। तर, संसद् सचिवालयले कर्मचारीलाई आवास भत्ताका नाममा मासिक ३ हजार देखि ३ हजार ५०० रुपैयाँ दिंदै आएको छ। उनीहरुले यो रकम अपुग भएको भनेर बढाउनका लागि दबाबस्वरुप संसद् भवनमा धर्ना थालेका छन्।






