![शीर्ष म्याराथन रेसमा सिप्रदीका पूर्वसीइओ दाहाल, ‘सक्दा-मिल्दा गइहाल्ने हो, भोलिको के भर हुन्छ र?’ शीर्ष म्याराथन रेसमा सिप्रदीका पूर्वसीइओ दाहाल, ‘सक्दा-मिल्दा गइहाल्ने हो, भोलिको के भर हुन्छ र?’](https://bizmandu.com/wp-content/uploads/2024/06/IMG_0027-1-scaled.jpg)
रुटिन नियमित छ। बिहान ४ बजे उठेपछि नित्यकर्म र ध्यान। त्यसपछि ‘वर्क आउट’ र दौड। दिउँसो काम। कामकै बीचमा मन तुलबुल भए हात ‘डमबेल’ या ‘केटलबेल’तिर। नभए डोरी घुमाउँदै उछलकुद। कम्मरमा डोरी कस्दै आँगनमा रहेको टायर घिच्याउने अभ्यास नियमित। अनि सक्दो रफ्तारमा दौड। कुदाइमा रफ्तार बढेको चाहिँ पछिल्लो एक वर्ष। यी शब्दहरु पढिरहँदा तपाईँले कल्पना गर्नुहुनेछ – कुनै खेलाडी प्रतियोगितापूर्व कसरी अभ्यासमा जुटिरहेको छ। ढिलो नगरी प्रष्ट पारौं यी कुनै ‘प्रोफेसनल प्लेयर’ होइनन्।
यिनी हुन् शम्भु दाहाल।
वर्ष ६२।
खेलाडीकै रुपमा हो भने यिनलाई’कर्पोरेट प्लेयर’का रुपमा चिन्ने धेरै छन्। सिप्रदी ट्रेडिङका पूर्वसीइओ यिनको अवकाशपूर्वको पद।
यस मल्टिमिडिया स्टोरीमार्फत् हामी उनको’अफबिट’ कथायात्रामा तपाईँलाई लैजाँदैछौं।
नियमित जागिरबाट अवकाश लिएपछि धेरैजसोको जीवन धिमा हुन्छ। ‘पोर्टफोलियो’को पावर निस्तेज। आम्दानीको स्रोत संकुचित। जो अदवका साथ निहुरिन्थे, तिनको हेराई हेयको। अनि यिनैका भुमरीले मानसिक स्वास्थ्यमा चर्को ‘ट्रिगर’। जति उमेर ढल्कियो, मानिस उति कमजोर। ‘रिटायरमेन्ट’सँग थपिने यिनै ‘ब्यागेज’ले धेरैजसो गल्छन्। निरीह हुन्छन्। टिठलाग्दा देखिन्छन्। मूलधारमा देखिने यस्ता सबै चरित्रको उल्टो धारमा उभिएका छन्- शम्भु। बिल्कुलै फरकरूपमा।
आजकल उनलाई कर्पोरेट मिटिङमा भेट्न कठिन छ। हेर्दा फुर्सदिला लाग्छन्। तर, अवकाशपछि झन् व्यस्त छन्। चुस्त शरीर र विन्दास पारा उनको पहिचान बनेको छ। उनका गतिविधिमा पूर्वीय दर्शन र आधुनिकताको अनौठो ‘फ्युजन’ भेटिन्छ। त्यसैले सिर्जित धुनमा झुमिरहेका उनी व्यस्त र मस्त लाग्छन्। बिहान घाम झुल्किनुअघि नै योगमा अनुबन्धित हुन्छन् उनी। त्यसपछि ‘फिजिकल फिटनेस’का लागि ‘वर्कआउट’तिर।
![](https://bizmandu.com/wp-content/uploads/2024/06/IMG_0005-1024x683.jpg)
त्यतिमै उनको गति रोकिन्न। आजकल खुबै दौडिन्छन्। उनको रफ्तारलाई भेट्न प्रोफेसनलबाहेक उनको उमेर समूहकाले सक्दैनन् भन्ने दाबी छ चर्चित धावक बैकुण्ठ मानन्धरको। तपाईँलाई अनौठो लाग्न सक्छ- ६२ वर्षको उमेरमा शम्भुले म्याराथनका लागि जबरजस्त कसरत गरिरहेको थाहा पाउँदा।
सिप्रदी ट्रेडिङको सीइओबाट अवकाश लिँदासम्म व्यावसायिक यात्रामा एउटा ‘प्रोफेसनल’का हिसाबले उनको रफ्तार लोभलाग्दो रह्यो। त्यस ‘रेस’मा उनलाई भेट्नेहरु थिएनन्। कम्पनीका अध्यक्ष सिद्धार्थ राणा सधैं उनको दाहिना। आफ्नो मेहनत र सिद्धार्थको ‘कृपा’प्रति शम्भु सधैं नतमस्तक छन्। यो सफलतालाई ‘पूर्वजन्मको कर्म र भाग्य’का रुपमा स्वीकार्छन् उनी।
अध्यात्मबाट मोक्ष होइन, कर्पोरेट सफलताको सिंढी चढ्न पनि होइन। धर्मको प्रतिफलको अपेक्षा पनि छैन। यतिखेर त उनको कुदाइ पैतालाले नापिरहेको छ, जसमा अध्यात्म र योग सहकार्य गरिरहेको देखिन्छ।
![](https://bizmandu.com/wp-content/uploads/2024/06/Sambhu-Dahal-3-2-1024x683.jpg)
![](https://bizmandu.com/wp-content/uploads/2024/06/SAmbhu-DAhal-7-1-1024x683.jpg)
संसारकै कठिन एभरेस्ट म्याराथन उनले साढे नौ घन्टामा पार गरेका छन्। केही महिनाअघि मात्रै म्याराथनका लागि अमेरिकाको बोस्टन पुगे, आठ-दश लाख खर्च गरेर। त्यसअघि न्युयोर्क सिटी, बर्लिन र लन्डन म्याराथन पूरा गरिसके। त्यसो त सीइओको हैसियतमा उनको कर्पोरेट म्याराथनको निश्चित गन्तव्य थियो। व्यावसायिक ‘टार्गेट’ पनि। अर्थात् लक्ष्य र उद्देश्य सँगसँगै जोडिएका थिए प्रतिफलका लागि। ती सबैको कुदाइमा उनले जित निकाले। तर, अहिले यो उमेरमा पैताला नापेर कहाँको गन्तव्य पूरा गर्दैछन् त?
‘इन्फिनिटी’।
मिल्नासाथ कुदिहाल्ने। विश्वका शीर्ष ६ म्याराथनमध्ये अब बाँकी रहेका दुई वटा नि भ्याइहाल्ने।
‘सक्दा र मिल्दा गइहाल्ने हो। भोलि के हुन्छ के भर?,’ उनले भने।
त्यसो त दौडसँग उनको नाता नयाँ भने होइन। नयाँ हो त ‘वर्क आउट’ शैली र ‘फिटनेस’ तयारी। किताबदेखि पोडकास्टसम्म उनका गुरु छन्। यसका लागि ‘प्याकेज’मै कोर्स पनि भ्याइसके।
+++
धेरै कर तिर्ने कर्मचारीहरुमा शम्भुको नाम शीर्ष सूचीमै रह्यो। नपुग्दो केही छैन। तर, यहाँसम्म आइपुग्न उनले मेहनतको बाटो कहिल्यै बिराएनन्। अहिले उनी यसरी दौडिन थालेका छन् कि कुनै अधुरो अपूरो काम भ्याउनु छ। लक्ष्य अनिश्चित भए पनि उपलब्धि निश्चित छ उनीसामु।
‘जुत्ता किन्न नसक्दा नांगै खुट्टामा यहीँ यसरी दौडिन्थेँ,’ दशरथ रंगशालाको ट्रयाकमा ‘फ्ल्यासब्याक’सँगै हराए उनी। २०३८ सालतिर बैकुण्ठ मानन्धरको पछिपछि दगुर्थे। दौडनका लागि उनीसँग जुत्ता थिएन, किन्न नसकेर। अनि नांगै पैतालामा रंगशाला फन्को मार्थे।
‘अहिले युरोपको जुत्ता लगाएर दौडिरहेको छु,’ उनले लगाएको जुत्ता देखाउँदै सुनाए, ‘दौडिएर पुग्ने चाहिँ कहाँ हो थाहा छैन।’
उनको हिजोको र आजको कुदाइमा अन्तर छ। दौडनका लागि पनि पैसा कमाउनुपर्ने थाहा पाएपछि उनले त्यही बाटो रोजे।
दौडनका लागि पनि पैसा?
अनौठो सुनिन सक्छ। बाध्यताबाट मुक्त भएर मनमौजी हिसाबले पैतालाले धर्ती नाप्न पैसाविना कसरी सम्भव हुन्छ र!
![](https://bizmandu.com/wp-content/uploads/2024/06/IMG_0007-1024x683.jpg)
म्याराथनको परिभाषाभन्दा परको तर कठिन सगरमाथाको होस् या संसारका चर्चित म्याराथन, समय, पैसा र तयारी – जो कसैको वशभन्दा टाढाको विषय। नेपालका चर्चित धावक बैकुण्ठ मानन्धरका अनुसार पाँच हजार ३ सय मिटर माथिबाट सुरु हुने एभरेस्ट म्याराथन भूगोलका कारण कठिनमात्र होइन, असाध्यै खर्चालु प्रतिस्पर्धा हो। हजारौं डलर खर्चेर विदेशीहरु सहभागी हुन्छन् यसमा। मध्यम वर्गीय नेपालीका लागि एउटा ‘अनअफोर्डेबल’ प्रतियोगिता। किनकि एभरेस्ट म्याराथनका लागि कम्तिमा २० देखि ३० दिन छुट्याउनैपर्छ। त्यसमाथि खुम्बु र हाइ अल्टिच्युडमा हुने गाँसबासको खर्च !
यसरी समय र पैसा दुवै खर्चेर शम्भु किन धापिइरहेका छन् त?
‘शरीरलाई जति दु:ख दियो त्यति बलियो हुन्छ। जीवनमा जस्तोसुकै कठिन अवस्थाको पनि सामना गर्ने हिम्मत दिन्छ,’ म्याराथनमाथि उनले आफ्नो ‘फिलोसफी’ सुनाए।
टाटा मोटर्सको माउ कम्पनी टाटा सन्सका अध्यक्ष नटराजन चन्द्रशेखरन पनि दौडिन्छन् म्याराथनमा। प्रेरित छन् शम्भु उनीसँग। उनलाई लाग्छ कुनै दिन म्याराथनमा दौडिँदादौडिँदै नटराजनसँग भेट हुनेछ। उनको यो अपेक्षासँग कर्पोरेट कनेक्सन देखिन्छ कताकता।
दौडले उनलाई जोडिरहेको छ – फरक व्यक्ति, फरक भूगोल। उनको भनाइमा दौडिनेको दुनियाँ अलग छ। खेलाडीका रुपमा भाग लिनेहरु एकलव्य झैं निसानामा लक्षित हुन्छन्। ‘कर्पोरेट’ र ‘भेट्रान’ चाहिँ तिनै खेलाडीसँगै आफूलाई ‘प्रुभ’ गरिरहेका हुन्छन् – पैसा तिरेर, ज्यान थकित गराएर।
ठूला म्याराथनमा ५०औं हजार मानिस एकैपटक दौडिन्छन्। प्रतिस्पर्धाभन्दा पनि ४२ किलोमिटर दुरी पूरा गर्दा उनीहरुको अनुहारमा विशेष चमक आउँछ- सन्तोषको। त्यहीँ कुद्नेहरु बीच गजबको ‘बन्डिङ’ हुन थाल्छ। ‘रनिङ वेभ’ले जोड्छ सबैलाई। शम्भुलाई लाग्छ यसरी बन्ने नेटवर्कको ‘स्पेक्ट्रम’ ज्यादै फराकिलो र बलियो छ।
![](https://bizmandu.com/wp-content/uploads/2024/06/KIP03236-1024x683.jpg)
कुनै बेलाका भयंकर पियक्कड शम्भु अहिले दारुदेखि दुर छन्। चुरोट र मासंहार त्यागिसके। सात्विक आहारमै रमाउँछन् आजकल। ध्यान र योगले उनलाई विचलित हुन दिँदैन।
‘मदिरा खाँदा सधैं एकैखाले साथीहरु हुने भए। यसले आफ्नो सर्कल बढ्न दिएन। त्यसपछि मैले छाडेँ,’ उनले प्रष्टीकरण दिए। त्यसपछि जतातिर उनी जोडिए, त्यसले दायरा लगातार बढाइरह्यो।
+++
एक झिसमिसे बिहान।
राजधानीको ‘प्राइम लोकेसन’मा पर्छ होटेल सोल्टी। त्यसकै बगलमा चलिरहेको छ योग अभ्यास। योगका लागि चाहिने म्याटसहित सबै कुरा तयारी अवस्थामा छ।
तीन जना गुरु स्टेजबाट ‘इन्स्ट्रक्सन’ दिइरहेका छन् -‘हामीले जसरी गरिरहेका छौं त्यसैअनुसार गर्नुस्।’ बीच बीचमा ठट्टा पनि भ्याइदिन्छन्।
तीन जनामध्ये बीचमा छन् शम्भु। उनीहरुलाई अरुहरुले पछ्याइरहेका छन्। व्यायाम, योग, ध्यान र साधना। पूर्वीय दर्शन र पाश्चात्य दृष्टिकोण, दुवै शम्भुका ‘इन्स्ट्रक्सन’मा आइरहेका छन्। धर्मका हिसाबले पनि सबैप्रति समभावमा उनीहरुको प्रस्तुति चलिरहेको छ। हरेक आसनलाई अर्थ्याइरहेका छन् शम्भु।
हामी आज उनको शिविर अवलोकनमा छौं।
![](https://bizmandu.com/wp-content/uploads/2024/06/SAmbhu-DAhal-3-1-1024x683.jpg)
योगगुरु रामदेवको कपालभातीदेखि सत्यनारायण गोयन्काले जोगाएको विपस्यनाको आनापानासम्म – सबै उनको अभ्यासमा अटाएको छ।
बिहान ७ बजे उनको घरसँगै जोडिएको योग केन्द्रको शिविर सकिन्छ। अनि जम्मा भएका महिला र पुरुषहरु आआफ्नो कर्मका लागि लाग्छन्।
‘भगवानको कृपाले यहाँ आउनेजति सबैलाई योगका लागि ठाउँ पुगेको छ,’ नियमित अभ्यास सकिएपछि उनले सुनाए।
शम्भुको निवाससँगै जोडिएको योग केन्द्र उनकै हो। उनले ६ करोड रुपैयाँ खर्चेर जग्गा र योग केन्द्रको जग बसाएका हुन्।
प्राइम लोकेसनको यो जग्गा उनले कमर्सियल हिसाबले चलाउन सक्थे। आम्दानी अझै बढ्थ्यो। तर, उनले त्यतातिर वास्ता गरेनन्।
‘यसले दिने सन्तुष्टिसँग पैसाको तुलना हुँदैन। यहाँ आए जतिलाई योग/ध्यान सिकाउन पाइएको छ त्यो नै ठूलो हो,’ उनले भने।
![](https://bizmandu.com/wp-content/uploads/2024/06/Sambhu-Dahal-4-2-1024x683.jpg)
![](https://bizmandu.com/wp-content/uploads/2024/06/SAmbhu-DAhal-6-1-1024x683.jpg)
![](https://bizmandu.com/wp-content/uploads/2024/06/SAmbhu-DAhal-5-1-1024x683.jpg)
शम्भुले घरभन्दा केही पर एउटा बगैंचा पनि जोगाएका रहेछन्। बगैंचामा लटरम्म आँप फलिरहेको छ यतिखेर। यो पनि यति प्राइम लोकेसनमा छ कि उनको बगैंचाको पर्खाल सोल्टी होटलसँगै टाँसिएको छ। यसलाई पनि कमर्सियल बनाएका छैनन् उनले। र, बनाउने रहर पनि पालेका छैनन्। ‘खानै नपाउने दिन आयो भने बेग्लै कुरा हो। नत्र यसलाई यसरी नै जोगाउँछु,’ उनले सुनाए।
बगैंचा वरिपरि बाटो बनाएका छन्। त्यसो त सुरक्षाका लागि बगैंचामा ताल्चा लाग्छ। तर, त्यसको चाबी छिमेकीहरुलाई पनि दिएका छन् – मन लागेको बेला हिँड्न पाउन् भनेर।
![](https://bizmandu.com/wp-content/uploads/2024/06/Sambhu-Dahal-1-2-1024x576.jpg)
‘यसै पनि ओपन स्पेस छैन हामीकहाँ। त्यसैले सबैलाई होस् भनेर बगैंचा बनाएर छाडेको हुँ,’ उनले सुनाए, ‘भूकम्प जाँदा धेरैले यहीँ आश्रय लिए। त्यतिखेर क्याम्प जस्तै थियो यो ठाउँ।’
जसरी दौडको दुनियाँ अलग छ, त्यस्तै फरक छ योग-ध्यानको संसार। यसमा अधिकांशको लक्ष्य मोक्षभन्दा धेरै वर नै हुन्छ। मनको शान्ति र शुद्धता यसको आधार। त्यसैले दौडमा जस्तै अलग र असाध्यै ठूलो नेटवर्क छ योगको। यसले धेरैलाई जोडिरहेको छ। जोड्नका लागि कोही न कोही ‘क्याटालिस्ट’का रूपमा छन् नै।
शम्भु तिनै उत्प्रेरकमध्ये एक हुन्।
![](https://bizmandu.com/wp-content/uploads/2024/06/Sambhu-Dahal-2-2-1024x682.jpg)
+++
मन चंचल छ। अस्थिर पनि। काम गर्दागर्दै भड्किन्छ र पुग्छ अनन्त। चित्तको चरित्रै यस्तो। त्यसलाई नियन्त्रणमा राख्न सजिलो छैन। त्यसैले शम्भुको बेडरुमदेखि ‘वर्क स्टेसन’सम्म पाइन्छ,‘वर्कआउट’ गर्ने साधनहरु – डमबेल, केटलबेल, मेडिसिन बल, डोरी।
काम गर्दागर्दै मन लागेन भने उनी डमबेल उचाल्न थालिहाल्छन्। त्यसले एकाग्रता बढाइहाल्छ। त्यसपछि फेरि काममा ‘फोकस’ हुन्छन्। कामकै दौरान जतिखेर मन लट्टाइको धागोबाट छिनेको चङ्गाजस्तो हुन थाल्छ – उनी फेरि समाउँछन् डमबेल वा केटलबेल वा मेडिसिन बल।
![](https://bizmandu.com/wp-content/uploads/2024/06/SAmbhu-DAhal-8-1-1024x683.jpg)
![](https://bizmandu.com/wp-content/uploads/2024/06/SAmbhu-DAhal-10-1024x683.jpg)
‘जति बेला मन लाग्छ त्यतिबेला यसको प्रयोग गरिहाल्ने हो,’ उनले सुनाए।
उनले जे गर्छन् त्यसको रेकर्ड पनि राख्छन्। पानी पिएदेखि, डोरी खेलेसम्म। आफ्नै गतिविधिको ‘ट्रयाकिङ’ गरिरहँदा उनले पत्ता लगाएका छन् – कमजोरी र सबल पक्ष। त्यसैले उनलाई कसरी अगाडि बढ्ने बाटो देखाइरहेको छ। उनले जे गरिरहेका छन् त्यो कसैलाई देखाउनका लागि होइन। आत्ममूल्याङ्कन जति ठूलो केही लाग्दैन उनलाई।
![](https://bizmandu.com/wp-content/uploads/2024/06/SAmbhu-DAhal-11-1024x683.jpg)
‘यही कुरा मैले पहिले नै जानेको भए कति धेरै प्रगति गर्थें होला!,’ शम्भुले सुनाए, ‘पहिले नै जानेको भए मेरो क्षमता कति माथि पुग्थ्यो, पुग्थ्यो।’
जतिखेर उनले योग, दौड र वर्कआउटलाई आफ्नो जीवनको हिस्सा बनाए उनको जीवन ‘अवकाशप्राप्त’बाट पहिलेभन्दा सक्रियमा रुपान्तरण भएको छ।
अनि आम्दानी नि?
‘जागिरे हुँदाभन्दा मेरो कमाइ घटेको छैन,’ उनले भने।
उनीसँग दौड दर्शन, वर्कआउट र योगका केही आदर्श छन्। दौडका लागि गुरु थापेका छन्। घरको ‘शो केस’मा दौडका किताब पनि छन्। तर, आफूलाई बारम्बार पढ्न नसकेको व्यक्तिका रुपमा चिनाइरहन्छन्।
‘पढ्न चाहिँ सक्दै सकिन। सातपटक सीए फेल भएँ। बीकमसम्म मात्र पास गरेँ।’
रिपोर्टिङका क्रममा उनले पटक पटक दोहोर्याएका केही वाक्यमध्ये एउटा पढाइसँग सम्बन्धित नै रह्यो। पढेर अहमताले भरिएका टन्नै मानिस देखेका छन् उनले। त्यसले अपूरो पढाइ भने पनि त्यसप्रति असन्तुष्ट भने सुनिएनन्।
![](https://bizmandu.com/wp-content/uploads/2024/06/SAmbhu-DAhal-13-1024x683.jpg)
![](https://bizmandu.com/wp-content/uploads/2024/06/SAmbhu-DAhal-12-1024x683.jpg)
पढ्नकै लागि काठमाडौं आएका उनले यहाँ टिक्न ट्राभल एजेन्सीमा काम थाले। त्यसपछि सोल्टी होटलमा जागिरे भए। उनकै शब्दमा नीरस थिए करिअरको पूर्वार्धका कामहरु जसमा उनी जम्न चाहेनन्। त्यसपछि जब उनी सिप्रदी छिरे सबैकुरा आफूअनुकूल बन्दै गयो। कम्पनी उनका लागि फाप्यो, उनी कम्पनीका लागि। उनीसँगै कर्पोरेटमा योग भित्रियो। साधना सुरु भयो। यसले’टिम बिल्डिङ’मा राम्रो भूमिका खेल्यो। र, त्यसैको ब्याज सधैं मिलिरहेको छ उनलाई।
+++
यो स्टोरी तयार पार्न बिजमाण्डूका मल्टिमिडिया पत्रकार रोजन श्रेष्ठ र रविन खाकी मसँगै थिए। शम्भु दशरथ रंगशालामा दौडिँदै आफ्नो अनुभव सुनाउँदै थिए। २०३० को दशकमा आर्थिक हैसियतले उनलाई दौडमा अडिन दिएन।
हामीले भेट्दा ‘प्रोफेसनल’ धावक झैं उनले रंगशालामा केही फन्को मारिरहेका थिए। उनले पुरानो धोको पूरा गरे झैं हामीलाई लाग्यो। फेरि उनले पढ्न छाडेको विषयसँगै ‘ड्रप आउट’ भएर पनि प्रगति गरेका संसारका चर्चित व्यक्तित्वको उदाहरण पस्के।
यिनै कुरा सुनिरहेका रोजनले पुलकित हुँदै शम्भुलाई सोधे – तपाईँको जीवनको लक्ष्य के थियो नि?
‘आफूसँग जे छैन मानिसको लक्ष्य त्यही हुन्छ। मसँग पैसा थिएन। मलाई पैसा कमाउनु थियो।’
![](https://bizmandu.com/wp-content/uploads/2024/06/SAmbhu-DAhal-2-1-1024x683.jpg)
हामीले रंगशालमा ‘भिडियो सुट’ सक्नैलाग्दा नेपालका चर्चित धावक बैकुण्ठ मानन्धर पनि आइपुगे। उनले शम्भुको अभ्यासबारे सुनाए – उहाँसँग दौडन कसले सक्ने?
सधैं झैं बैकुण्ठले खेलाडीलाई राज्यले केही नगरेको गुनासो गरे। गरेको भए उनी किन सुनाइरहन्थे बारम्बार?
हामी रंगशालाबाट बाहिरिँदै थियौं। शम्भु छिट्टै म्याराथनका लागि जापान जाने योजना सुनाउँदै थिए।
बैकुण्ठले उनीतिर आशाको भाव प्रकट गर्दै भने, ‘मलाई पनि जान मन छ। म पनि जान्छु।’
शम्भुले ‘हुन्छ’ भनेपछि बैकुण्ठको मुहार उज्यालो देखियो। हामी पनि फर्कियौं।