बंगलादेशले नेपाललाई दियो १ सय ७ रनको लक्ष्य, लामिछानेको सय विकेट पूरा

बिजमाण्डू
२०८१ असार ३ गते ०७:०२ | Jun 17, 2024
बंगलादेशले नेपाललाई दियो १ सय ७ रनको लक्ष्य, लामिछानेको सय विकेट पूरा

काठमाडौं। नेपाली क्रिकेट टोलीले बंगलादेशबाट १ सय ७ रनको लक्ष्य पाएको छ। आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह ‘डी’को खेलमा टस हारेर ब्याटिङमा उत्रिएको बंगलादेशले निर्धारित २० ओभर पूरा हुन ३ बल बाँकी छँदा १०६ रनमा अलआउट भएको हो। टी-२० विश्वकपमा बंगलादेशले कुनै पनि एसोसिएट टोलीविरुद्ध बनाएको यो सबैभन्दा कम स्कोर हो।

Tata
GBIME

सेन्ट भिन्सेन्टस्थित आर्नोस भेल स्टेडियममा इनिङ्सको पहिलो बलमै विकेट लिँदै सोमपाल कामीले नेपालको पक्षमा मोमेन्टम बनाउन सफल भएका थिए। बंगालादेशी ओपनर तान्जित हसन रोयल डकआउट हुँदा अर्को ओपनर लिट्टोन दास १० रन बनाएर सोमपाल कामीकै बलमा आउट भए। त्यसअघि ४ रन बनाएका कप्तान नजमुल हुसैन शान्तोलाई दीपेन्द्रसिंह ऐरीले बोल्ड आउट गरेका थिए।

बंगलादेशका लागि सर्वाधिक रन अनुभवी सकिब अल हसनले बनाए। उनले २२ बलमा १७ रन बनाएर नेपाली कप्तान रोहितकुमार पौडेलबाट एलबीडब्लु आउट भए। उनीबाहेक महमदुल्लाह र रिसद हुसैनले समान १३ रन बनाउँदा जाकेर अलीले १२ रन बनाए।

बलिङतर्फ नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र सन्दीप लामिछानेले समान २ विकेट लिए।

योसँगै सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रियमा आफ्नो १०० औँ विकेट पूरा गरेका छन्। उनी विश्वकपमा क्रिकेट सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको दोस्रो स्थानमा छन्। अफगानिस्तानका राशिद खानले सर्वाधिक छिटो ५३ खेलमा यो कोसेढुंगा पार गरेका थिए। लामिछानेले ५४ औँ खेलमा यो कोसेढुंगा पार गर्दा टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट लिने पहिलो खेलाडीसमेत बनेका छन्।

बंगलादेशविरुद्ध नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।

नेपालको प्लेइङ ११

रोहित पौडैल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, अनिल साह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, सुन्दीप जोरा, सन्दीप लामिछाने, अभिनास बोहरा