अमेरिकालाई हराउँदै भारत सुपर-८ मा, पाकिस्तानको सम्भावना के छ?



बिजमाण्डू
२०८१ जेठ ३१ गते ०७:२३ | Jun 13, 2024
अमेरिकालाई हराउँदै भारत सुपर-८ मा, पाकिस्तानको सम्भावना के छ?
अमेरिकाविरुद्ध फिल्डिङमा भारतका बिराट कोहली। तस्बिर: आईसीसी/ गिट्टी इमेजेज

काठमाडौं। भारतले आईसीसी टी-२० विश्वकपको सुपर-८ मा स्थान बनाएको छ। गएराति अमेरिकाको न्युयोर्कस्थित नासउ काउन्टी स्टेडियममा घरेलु टोलीलाई ७ विकेटले हराउँदै समूह भारत ‘ए’ बाट सुपर-८ मा स्थान बनाउने पहिलो टोली बनेको हो। अन्य समूहबाट  दक्षिण अफ्रिका र अस्ट्रेलियाले यसअघि नै स्थान बनाइसकेका छन्।

Tata
GBIME
Nepal Life

गएराति सम्पन्न खेलमा टस जितेर भारतीय टोलीका कप्तान रोहित शर्माले पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए।

सुरुवाती ब्याटिङमा उत्रिएको अमेरिका निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै  ११० रनमा समेटियो। इनिङ्सको पहिलो बलबाटै विकेट गुमाउन सुरु गरेको अमेरिकाले ठूलो साझेदारीहरु भने बनाउन सकेन। अमेरिकाका लागि नितिश कुमारले सर्वाधिक २७ रन बनाउँदा स्टेभेन टेलरले २४, कोरी एन्डरसनले १५ तथा आरोन जोन्स र स्याड्ली भान स्कालवाकले समान ११ रन बनाए।

बलिङतर्फ भारतका अस्रदीप सिंहले सर्वाधिक ४ विकेट लिँदा हार्दिक पाण्ड्याले २ तथा अक्षर पटेलले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको भारतले १८.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो। सुरुमा भारतले पनि ब्याटिङमा संघर्ष गरेको थियो। इनिङ्सको दोस्रो बलमा बिराट कोहली र २.२ ओभरमा कप्तान रोहित शर्मालाई अमेरिकाका सौरभ नेत्रभाल्करले आउट गराउँदै भारतमाथि दवाब बढाएका थिए।

त्यस्तै ७.३ ओभरमा १८ रन बनाएका ऋषभ पन्तलाई अली खानले बोल्डआउट गरे। त्यसपछि भने सूर्यकुमार यादव र शिवम दुबेले साझेदारी गर्दै भारतलाई लक्ष्यसम्म पुर्‍याए। यादव ५० रनमा अविजित रहँदा दुबे ३१ रनमा अविजित रहे।

भारतको जितसँगै विश्वक्रिकेटको अर्को ठूलो शक्ति पाकिस्तानलाई राहत मिलेको छ। यो जितले भारत सुपर-८ मा पुगेको छ। अब क्वालिफाइ हुने होडमा बाँकी टोली छन्। दोस्रो स्थानमा अमेरिका ४ अंक जोडेर छ भने तेस्रो र चौथो स्थानमा समान २ अंक बनाएका क्यानडा र पाकिस्तान छन्। आयरल्याण्ड तालिकाको पुछारमा छ।

अमेरिकालाई सुपर-८ पुग्न एक जित या ‘वासआउट’ काफी हुनेछ। त्यस्तै पाकिस्तानले आफ्नो बाँकी एक खेल जितेर अमेरिकाको भन्दा राम्रो रनरेट हात पार्नुपर्नेछ। बाँकी टोली पनि बाँकी खेलमा राम्रो रनरेटमा जितेर समीकरण बनाउने प्रयासमा हुनेछन्।

आज समूह ‘सी’ का वेस्ट इण्डिज र न्युजिल्याण्ड प्रतिस्पर्धामा छन्। न्युयोर्कमा वेस्टइण्डिजले पहिला ब्याटीङ गरिरहेको छ। त्यस्तै आज साँझ सवा ८ बजे नेपाल रहेको समूह ‘डी’ अन्तर्गत बंगलादेश र नेदरल्याण्ड्स भिड्दैछन्।