
काठमाडौं। मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षापछि जेठ दोस्रो साता सेयर बजार लगातार बढ्यो। जेठ ३ गते २०१८ विन्दुमा रहेको नेप्से मौद्रिक नीतिमा गरिएको खुकुलो व्यवस्थाका कारण ४ दिनमा ११३ अंकले बढेर २१३१.४९ विन्दुमा पुग्यो। तर, बजेटपछि वृद्धि टिक्न सकेन।
बजेटपछि नेप्से दुई दिनमा ४३.७ अंकले ओरालो लाग्यो, २०६९.५३ विन्दुमा झर्यो। आइतबार भने नेप्से १३.५१ अंकले बढ्यो, ४ अर्ब ३१ करोड रुपैयाँको सेयर किनबेच भयो। मौद्रिक नीतिको समीक्षा पछि कारोबारमा देखिएको उत्साह भने कायमै छ। तर, यसले निरन्तरता पाउनेमा भने लगानीकर्ता विश्वस्त छैनन्।
अहिले परिसूचक २०८३.०४ विन्दुमा छ। २०७८ भदौ २ गते ३१९८.१९ अंक पुगेर ऐतिहासिक उचाई बनाएको नेप्से त्यसयता निरन्तर बियरिस ट्रेन्डमा छ।
बैंक तथा वित्तीय संस्थाबाट उच्च कर्जा प्रवाह भएको भन्दै नेपाल राष्ट्र बैंकले कसिलो मौद्रिक नीति लियो। ब्याजदर वृद्धि र कर्जा प्रवाहमा अंकुश लगाएर माग घटाउने राष्ट्र बैंकको नीतिले सेयर बजारमा असर गर्यो। गत वर्षको अन्त्य र चालु वर्षदेखि नीतिगत कडाइ हटाउन थालिए पनि २०७८ मा लिएको नीतिको असर बजारमा कायमै रह्यो।
२०७८ भदौदेखि घट्न थालेको बजारले निरन्तर एउटै लय समात्यो। २०७९ वैशाख २८ गते २३६९.०६ अंकमा रहेको नेप्से त्यही वर्षको असार ९ गते १८४८.२८ विन्दुमा झर्यो। त्यसपछिको २ वर्षसम्म पनि परिसूचक २३०० विन्दुमा पुग्न सकेको छैन। यो बीचमा दुई पटक २२०० अंक नाघे पनि पुन: १८०० तिर ओरालो लागेको चित्र छ।
चालु आर्थिक वर्ष चौथो त्रैमास सुरु हुँदा समेत बजारमा सुधारको संकेत देखिएको छैन। राष्ट्र बैंकले १५/२० करोडको कर्जा सीमा बाहेक मुख्य नीतिगत कडाइ हटाइसकेको छ। तैपनि बजार उही सेरोफेरोमा घुमिरहेको छ।
जेठ पहिलो साता मौद्रिक नीतिको समीक्षापछि केही दिन उकालो लागेको नेप्सेले पुन: बियरिस ट्रेन्ड लियो। ऋणको माग नभएर बैंकिङ प्रणालीमा तरलता थुप्रिंदा तथा ब्याजदर एकल अंकमा आउँदा पनि नेप्से माथि जान नसकेको हो।
सेयर बजारका लागि तरलता र न्यून ब्याजदर अनुकूल सूचक मानिन्छन्। तर, अनुकूल सूचकका बाबजुद बजार माथि जान सकेको छैन।
केही सूचक राम्रो रहेको र ब्याजदर घट्दा पनि बजारले किन उचाई लिन सकिरहेको छैन त? बजारमा विश्लेषकहरू यसलाई अर्थतन्त्रसँग जोडेर हेर्नुपर्ने धारणा राख्छन्। अर्थतन्त्रमै समस्या रहेका बेला पुँजी बजारका लागि उपयुक्त मानिएका सूचकले काम गर्न नसकेको उनीहरूको भनाइ छ।
‘बजारले क्लियारिटी खोजिरहेको छ। त्यो पाइरहेको छैन। अहिलेको समस्या यही हो,’ विश्लेषक मुक्ति अर्यालले भने, ‘ब्याजदर र लिक्विडीटी बजार अनुकूल छन्। तर, यसले काम गर्न सकेन। किनभने अर्कातिरबाट हेर्दा व्यक्ति वा कम्पनीले थप लगानी गरेनन्। त्यो भएपछि बिजनेस सुस्त हुने भयो। अर्थतन्त्रमाथि जान सकेन। त्यसको असर बजारमा देखिएको हो।’
विश्लेषकहरूका अनुसार, बजारले सकारात्मक बाटो नसमात्नुमा सरकारको रबैया अर्को प्रमुख कारण हो।
पछिल्लो समय सरकारका विभिन्न निकायले ठूला उद्योगी व्यवसायीमाथि धरपकड गरिरहेका छन्। देशका ठूला र शक्तिशाली मानिएका उद्योगी व्यवसायी पक्राउको श्रृंखला रोकिएको छैन।
राजनीतिक लाभ हानीका लागि निजी क्षेत्रमाथि भइरहेको यो आक्रमणले लगानी संकुचित भएको छ। सँगै त्यसको असर विभिन्न क्षेत्रमा परेको छ।
‘देशका ठूला लगानीकर्ता जोगिनका लागि विदेश बस्नुपरेको अवस्थामा यहाँ लगानी सुध्रिन्छ भन्नु बेकार हो,’ सेयर बजारका एक लगानीकर्ताले भने, ‘ठूला उद्योगी व्यवसायी नै असुरक्षित भएका बेला सेयर बजारमा लगानीकर्ताले कुन आत्मविश्वासमा पैसा लगाउँछन्?’
उनका अनुसार विगतमा सरकारी संयन्त्रमार्फत नै लगानी गर्न दिइएका उद्योगी व्यवसायीलाई पक्राउ नगरी छानबिन गर्नुपर्नेमा आतंकित बनाउने काम भएको छ।
‘मौद्रिक नीति जस्तोसुकै लचिलो आए पनि राज्यले निजी क्षेत्रमाथि आक्रमण हुँदैन भन्ने विश्वास दिलाउनु पर्यो,’ ती लगानीकर्ताले भने, ‘त्यो प्रतिबद्धतापछि अरु क्षेत्रमा लगानी बढ्छ। त्योसँगै सेयर बजारले पनि आफ्नो गति लिन थाल्छ।’
२०७८ भदौमा नेप्सेले लिएको उचाइलाई आधार मान्ने हो भने ३४ महिनामा लगानीकर्ताले १५ खर्ब रुपैयाँभन्दा बढी गुमाएका छन्। त्यतिखेर सूचीकृत कम्पनीको संख्या २२० हुँदा बजार पुँजीकरण ४४ खर्ब ६८ अर्ब रुपैयाँ रहेकामा अहिले बजार पुँजीकरण ३३ खर्ब रुपैयाँमा झरेको छ। यो बीचमा सूचीकृत कम्पनीको संख्या बढेर २७३ पुगेको छ। सेयर पनि ठूलो संख्यामा थपिएको छ।
निरन्तरको ओरालो यात्राले लगानीकर्ता आशावादी छैनन्। उनीहरूमा कन्फिडेन्स नहुँदा अनुकूल परिस्थितिमा पनि नेप्सेले लय समात्न सकेको छैन। लगानीकर्ताले नीतिगत स्थायित्वका साथै कन्फिडेन्स खोजेको हिमालयन ब्रोक्रेजका अध्यक्ष सागर ढकालले बताए।
‘बजारले ठ्याक्कै नीतिगत तहको विश्वास खोजेको छ। बजेटले राम्रो केही नगरे पनि बजारमा नकारात्मक प्रभाव पार्ने नीति लिएन। त्योभन्दा पनि लगानीकर्ताले अहिले खोजेको मुख्य कुरा कन्फिडेन्स हो,’ उनले भने।