काठमाडौं। नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध विशेष अदालतमा अर्को मुद्दा दायर भएको छ।
नेसनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार गरेको ठहर भएको पर्सिपल्ट आइतबार अख्तियारले पौडेलविरुद्ध अकुत सम्पति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको हो। आयोगले अनुसन्धानका लागि पौडेललाई गत माघ १० गते पक्राउ गरेर हिरासतमा राखेको थियो।
उनको २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ सम्पत्तिको स्रोत नखुलेकाले मुद्दा दायर गरेको अख्तियारका अधिकारीहरुले जनाएका छन्।
पौडेलको २४ करोड ९४ लाख ७१ हजार १७१ रुपैयाँ बराबरको सम्पत्तिमध्ये १ करोड १९ लाख २४ हजार ८४६ रुपैयाँको मात्र स्रोत देखिएको अख्तियारले दायर गरेको अभियोगपत्रमा उल्लेख छ।
विशेष अदालतले नेसनल पेमेन्ट गेटवे खरिदमा भएको भ्रष्टाचारमा पौडेललाई शुक्रबार दोषी ठहर गरेको थियो। केन्द्रले ६ वर्षअघि २३ करोड २७ लाख रुपैयाँमा नेसनल पेमेन्ट गेटवे खरिद गरेको थियो।
जुन अहिलेसम्म प्रयोगमा आएको छैन। अदालतले नेसनल पेमेन्ट गेटवे खरिद गरेर त्यसलाई प्रयोगमा नल्याएकामा सरकारलाई हानी नोक्सानी पुर्याएको भन्दै पौडेललाई दोषी ठहर गरेको हो। अदालतले पौडेलबाहेकका ८ अभियुक्तलाई भने सफाइ दिएको थियो।
उनीविरुद्ध सजाय निर्धारण गर्न बाँकी छ। यसका लागि वैशाख २५ गतेका लागि पेशी तोकिएको छ।
२०६१ जेठ २० गते करारमा प्रशासकीय अधिकृतका रुपमा राष्ट्रिय सूचना प्रविधि केन्द्रमा प्रवेश गरेका पौडेलले २०६२ माघ २८ गतेसम्म काम गरे। उनी २०६५ असार १२ गते कम्युटर इन्जिनियरका रुपमा केन्द्रमा फर्किए। उनले २०७५ साउन २० सम्म केन्द्रमा विभिन्न पदमा रहेर काम गरे। उनी यतिबेला पनि करार कर्मचारी थिए।
२०७५ साउन २१ गते केन्द्रको कार्यकारी निर्देशक बन्न सफल भए। उनलाई कार्यकारी निर्देशक नियुक्त गर्ने बेला एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री तथा उनका विश्वासपात्र गोकुल बास्कोटा सञ्चार तथा सूचना प्रविधिमन्त्री थिए।
पौडेल केन्द्रमा कार्यकारी निर्देशकका रुपमा २०७८ चैत २४ सम्म कार्यरत रहे। उनी केन्द्रमा कार्यकाल नसकिंदै तत्कालीन राजनीतिक नेतृत्वलाई रिझाएर २०७८ चैत २५ गते नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त भए। उनलाई टेलिकमको नेतृत्वमा पुर्याउन तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले भूमिका निर्वाह गरेका थिए।
पौडेलले केन्द्रको कार्यकारी निर्देशक रहँदा आफैंले टेण्डरको कोटेसन बनाइ योजनाबद्ध ढंगले आफैंले चाहेका स्वदेशी आपूर्तिकर्ता डब्लूडीएन, ओबीसीआई, मयाक्स, नेक्स्ट जेन सोलुसन लगायतसँग ठेक्का सम्झौता गरी विदेशी आपूर्तिकर्ता कम्पनीलाई सामान उपलब्ध गराउन लगाइ कमिसन रकम सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंकमा रहेको खातामा जम्मा गर्न लगाएको पाइएको छ।
पौडेलले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिबाट दाइ अनिलका नाममा घरजग्गा किनेको पनि अख्तियारको अनुसन्धानबाट देखिएको छ। अख्तियारले त्यो सम्पत्ति जफत गर्ने प्रयोजनका लागि अनिललाई पनि प्रतिवादी बनाएको छ।
टेलिकमको प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहेकै बेला अख्तियारले गत असोज १५ गते पौडेलविरुद्ध नेसनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो। मुद्दा दायरसँगै पौडेल निलम्बनमा परेका थिए।










