फाइनल पुगेको नेपाली क्रिकेट टोली १ सय १९ रनमा अलआउट हुँदा बरोडासँग पराजित



बिजमाण्डू
२०८० चैत्र २३ गते १६:५४ | Apr 5, 2024
फाइनल पुगेको नेपाली क्रिकेट टोली १ सय १९ रनमा अलआउट हुँदा बरोडासँग पराजित
ब्याटिङमा गुल्सन झा र सुन्दिप जोरा। तस्बिर : क्यान

काठमाडौं। नेपाली क्रिकेट टोली बरोडासँग पराजित भएको छ। भारतको गुजरातस्थित साइ मेघपन स्पोर्ट्स लाइफ स्टेडियममा जारी एसएमएस फ्रेन्डसिप कपको आफ्नो चौथो खेलमा नेपाल बरोडासँग ३७ रनले पराजित भएको हो।

Tata
GBIME
Nepal Life

टस जितेर ब्याटिङमा उत्रिएको बरोडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल १८.५ ओभरमा ११९ रनमा समेटिएको हो।

बरोडाविरुद्ध रन जोड्दै विवेक यादव र सुन्दीप जोरा। तस्बिर: क्यान

लगातार तीन खेलमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको नेपालले १५७ रनको लक्ष्य पछ्याउन सुरुबाटै संघर्ष गर्‍यो। नेपालका लागि सुन्दीप जोराले ५७, विवेक यादवले १७ र कुशल भुर्तेलले १६ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन नै जोड्न सकेनन्।

टोलीमा कप्तानसहित ४ परिवर्तन गरेर दीपेन्द्रसिंह ऐरीको कप्तानीमा उत्रिएको नेपालको ब्याटिङलाई धराशायी बनाउन बरोडाका ध्रुव पटलले सर्वाधिक ४ विकेट लिए। त्यस्तै, लक्षित तोक्सियाले ३ विकेट लिँदा जय अबालेले २ तथा हेमन्त पुण्डेले १ विकेट लिए।

बरोडाको इनिङ्स

सुरुवाती ब्याटिङ गरेको बरोडालाई नेपालले सुरुबाटै दबाबमा राखेको थियो। इनिङ्सको तेस्रो बलमै प्रियांशु मोलियाको विकेट लिँदै करण केसीले नेपाललाई पहिलो सफलता दिलाएका थिए।

दोस्रो विकेटका लागि बरोडाको ४८ रनको साझेदारी बन्यो। दोस्रो विकेटका रुपमा २६ रन बनाएका अमित पासीलाई ललितनारायण राजवंशीले एलबीडब्लु आउट गराए। त्यस्तै, ७.३ ओभरमा मोहित मोगियालाई प्रतिश जिसीले कुशल मल्लबाट क्याचआउट गराउँदा बरोडा ५१-३ को अवस्थामा थियो।

रन आउट अपिल गर्दै दीपेन्द्रसिंह ऐरी। तस्बिर: क्यान

नेपालका लागि चौथो सफलता १२.५ ओभरमा मिल्यो। ११ रन बनाएका अभिमन्यु राजपुत रनआउट हुन पुगे। त्यस्तै, १५.२ ओभरमा ३१ रन बनाएका शास्वत रावत गुल्सन झाको बलमा आउट भए।

त्यसपछि भने ध्रुव पटेलले आक्रामक ब्याटिङ गर्दै ठूलो स्कोरतर्फ टोलीलाई लैजान सफल भए। अन्तिम दुई ओभरमा मात्र नेपालले ४१ रन खर्चियो। पटेलले १४ बलमा २९ रन बनाए।

बरोडासामू बलिङ गर्दै युवा बलर आकाश चन्द। तस्बिर: क्यान

नेपालका लागि करण केसी र गुल्सन झाले समान २ विकेट लिँदा आकाश चन्द, प्रतिश जिसी र ललित राजवंशीले समान १ विकेट लिए।

हारका बावजुत नेपालले फाइनलमा स्थान बनाइसकेको छ भने जितका बावजुत बरोडा बाहिरिसकेको छ। प्रतियोगिताको फाइनलमा नेपाल र गुजरात आइतबार प्रतिस्पर्धा गर्नेछन्।