
काठमाडौं। ‘मरुभूमिमा पानी खन्याइरहेकी छौं, विचार पुर्याउनु’, ‘बालुवामा पानी हालेको जस्तो होला, स्कोप देखेको छौं?’ चेस एकेडेमी खोल्नेबारे कुरा हुँदा मोनालिसा खम्बुले धेरैपटक सुन्नुपरेको भनाइ हो यो। क्रिकेट र फुटबल जस्ता लोकप्रिय खेल त व्यवसायिक बन्न नसकिरहेको अवस्थामा चेस एकेडेमी खोलेर व्यवसाय सञ्चालन गर्नु खम्बुका लागि चुनौतीपूर्ण नहुने कुरै भएन।
राष्ट्रियस्तरमा चेस च्याम्पियन खम्बुले आफूले खेल्दाको अनुभव र अभाव सम्झिँदै ती चुनौतीहरुसँग जुड्ने मनसाय बनाइन्। र, हिमालयन चेस एकेडेमी सञ्चालनको ‘डेयरिङ’ गरेकी छन्।
थापाथलीमा खुलेको चेस एकेडेमीमा शनिबार बिदाका दिन बिहानैदेखि बालबालिकाको भीड लाग्ने गर्छ। चेस बोर्डको वारपार बसेर बालबालिकाहरु एकअर्कालाई ‘चेकमेट’ भन्न तम्सिरहेका हुन्छन्। केही भने चेसको ‘बेसिक्स’हरु सिकिरहेका हुन्छन् प्रशिक्षकबाट।
बुद्धिचाल नयाँ खेल पक्कै होइन। तर, एकेडेमीको अवधारणामा नेपालमा यो पहिलो प्रयास भएको बताउँछिन् खम्बु।
‘स्कोप विचार गर भनेर धेरैले भन्नु भयो। तर, प्यासनले म यसमा लागेँ,’ सानैदेखि बुद्धिचाल खेल्दै हुर्किएकी खम्बुले भनिन्।

मोनालिसा खम्बू नेपाली चेस जगतमा परिचित नाम हो। हालसम्मकै सबभन्दा उच्च रेटिङ १८७७ मा पुगेकी नेपाली महिला खेलाडी हुन् उनी। त्यही सक्रियताबाट चेसलाई ‘प्यासन’ बनाएकी उनले ‘एक्सपेक्ट’ गरेको भन्दा धेरै ‘स्कोप’ भेटाएकी छन्, चेस एकेडेमी खोलेको थौरै समयमा नै। खम्बुले थापाथलीमा १५ लाख हाराहारी लागतमा ‘हिमालयन चेस एकेडेमी’ खोलेकी हुन्। अहिले एकेडेमीमा भर्ना भएका र भर्ना हुन चाहनेहरुको संख्या बढिरहेको छ।
‘चेस कोर्सहरुमा सिटहरु प्याक भएको छ। अर्को सत्रका लागि पनि बुकिङ भइरहेको छ। मैले यति धेरै अपेक्षा राखेकै थिइन,’ उनले भनिन्।

नसोचेको भइरहँदा उनी खुसी पनि छन्। बालबालिकाले एकेडेमी भरिँदा आउने दिनमा एकेडेमीले राष्ट्रियस्तरको चेस खेलाडी उत्पादन गराउने उनको लक्ष्य छ।
‘चेसले ब्रेन डेभलभमेन्टदेखि होलिस्टिक डेभलभमेन्टमा सहयोग पुर्याउँछ। हाम्रो योजना स्कुल स्कुलमा चेस पुर्याउने हो। स्थानीय तह र निकायसँग समन्वय गरेर एकेडेमिक करिकुलमका रुपमा स्थापना गर्नु हो,’ उनले एकेडेमीको उद्देश्य सुनाउँदै भनिन्।
भर्खरैमात्र खोलिएको एकेडेमीमा हाल चारवटा कोर्सहरु सञ्चालन भइरहेको छ। एकेडेमीमा हाल ५ देखि १४ वर्षका ३७ जनाले चेस सिकिरहेका छन्। अहिले बालबालिका धेरै भर्ना भए पनि आउने दिनमा युवादेखि सबै उमेर समूह एकेडेमीतर्फ आकर्षित हुनेमा उनको विश्वास छ।

एकेडेमीमा भर्ना अघि खेलाडीको ‘लेभल’ परीक्षण हुन्छ। त्यसैका आधारमा कुन कोर्स लागि उपयुक्त हुने हो त्यही अनुसार भर्ना गरिन्छ।
‘लेभल टेस्टमा स्कोरिङका आधारमा चारवटा कोर्स छन्। बिगिनर्स, एडभान्स बिगिनर्स, इन्टर मिडियट र एडभान्स्ड। कुनमा म्याच हुन्छ त्यसमा एडमिसन लिन्छौं,’ उनले भनिन्।
एकेडेमीमा भर्ना का लागि २ हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ। त्यसपछि कोर्स अनुसार फरक शुल्क पर्न आउँछ। बिगिनर्स कोर्स १२ हप्ताको, एडभान्स बिगिनर्स कोर्स १४, इन्टरमिडियट कोर्स १६ र एडभान्स्ड कोर्स २० हप्ताको हुन्छ। कोर्सका लागि १० देखि २० हजार रुपैयाँ शुल्क तोकिएको छ।


अभाव खड्किंदा जन्मिएको एकेडेमी
राजधानीको सानो कोठा र खेल्ने ठाउँको अभावबीचबाट सुरु हुन्छ खम्बुको चेस करिअर। भाईसँग चेस खेल्दै विद्यालयबाट विभिन्न प्रतियोगिता खेल्दै उनले चेसमा आफ्नो स्थान सुधार्दै गइन्। विस्तारै एउटा कोठामा सीमित चेसबोर्डले उनको लागि अवसरका ढोका खोल्यो। सन् २००६ मा एसियन गेम्सका लागि छनोट भइन् उनी।
‘नेपालबाट पहिलो पटक अन्तर्राष्ट्रियस्तरमा महिला चेस खेलाडी हुने मौका पाएँ,’ उनी सम्झन्छिन्।
त्यसपछि उनले विभिन्न एसियाड, ओलम्पियाडसाथै राष्ट्रियस्तरको प्रतियोगिताहरुमा निरन्तर सहभागिता जनाइन्। राष्ट्रिय चेसमा सधैंजसो च्याम्पियन रहे पनि अन्तर्राष्ट्रियस्तरको प्रदर्शन भने उनलाई खड्किरह्यो।

त्यही खड्किएको अभाव पूर्ति गर्न चेस एकेडेमीको परिकल्पना गरेकी हुन् उनले। कारण के त ? न सरकारको लगानी थियो न त चेसमा अघि बढ्नका लागि प्रेरणा।
‘नेपालमा फर्स्ट हुने तर विदेशमा सधैं लास्ट हुने। यो चाहिँ सधैं खड्किन्थ्यो। आफैं खेलाडी हुँदा एउटा स्तरमा पुगेपछि त्यो भन्दा अघि बढ्न सकिन। हरेक खेलाडीको पिक टाइममा पुसिङ फ्याक्टर चाहिन्छ। कोच या संघ या राखेप हुन सक्छ,’ उनले भनिन्, ‘त्यस्तोमा लगानी र पुस गर्ने चाहिएको हुन्छ। राज्यको पनि बेवास्ता परेको खेल पर्यो।’


आफ्नो करिअरको ‘पिक टाइम’मा एक्सपोजर र ट्रेनिङहरु नपाउँदाको भोगाइ उनी नयाँ पुस्तालाई दिन चाहँदिनन्। त्यसैले एकेडेमी सञ्चालन गरेर चेसको ट्रेनिङसँगै ‘पुस फ्याक्टर’को निर्माणमा लागेकी हुन् उनी।
उनी भन्छिन्, ‘यसमा लर्निङ प्रोसेस खड्किएको रहेछ। सिस्टमेटिक तरिकाको खेल चाहिएको रहेछ। लेभल अप गर्न प्रोपर ट्रेनिङ चाहिन्छ।’

त्यसैले चेसमा दुई दशक बिताएकी उनी अबको करिअर पनि चेसलाई नै दिन कस्सिएकी हुन्। एकेडेमी सञ्चालनको पहिलो चरणमा नसोचेको भइरहे पनि आउने दिनमा कसरी चेसलाई थप व्यावसायिक बनाउँदै लग्ने भन्नेमा उनी केन्द्रित छिन्।