
बीएमडब्लुले नवीनतम विद्युतीय फिचरहरूसहित नयाँ कारको ‘कन्सेप्ट’ सार्वजनिक गरेको छ। कम्पनीले यो नयाँ कारले नाफा बढाउनुका साथै टेस्ला र मर्सिडीज-बेन्जका इलेक्ट्रिक भेहिकल (ईभी) खरिदकर्ताहरुलाई आकर्षित गर्ने बताएको छ।

बीएमडब्लु भिजन नोय क्लास एक्स नाम दिइएको इलेक्ट्रिक स्पोर्ट एक्टिभिटी भेहिकलको इन्टेरियरमा धेरै हदसम्म वनस्पति-आधारित सामग्रीको प्रयोग गरिने बताइएको छ। साथै, यसमा पर्सनालाइज्ड ड्राइभिङ साउन्ड र प्रभावशाली नयाँ ड्राइभ टेक्नोलोजी उपलब्ध हुनेछ।


यो गत वर्ष सार्वजनिक गरिएको बीएमडब्लु भिजन नोय क्लास कन्सेप्ट कारको अर्को रुप हो। यसले मर्सिडिज बेन्जको आगामी सीएलए इलेक्ट्रिक सेडान र टेस्लाको परिमार्जित मोडेल ३ इलेक्ट्रिक सेडानसँग प्रतिस्पर्धा गर्ने बताइएको छ।

यो वृहत अवधारणाले बीएमडब्लुको एक्स मोडेल एसयूभीको विकासलाई प्रदर्शन गर्नेछ। यसले लक्जरी इलेक्ट्रिक एसयूभीहरुमाझ मर्सिडीज ईक्यूए र ईक्यूबी तथा टेस्ला मोडल वाई ईभीहरुलाई टक्कर दिनेछ।

बीएमडब्लुले आफ्नो नयाँ कन्सेप्टलाई ‘स्पोर्ट एक्टिभिटी भेहिकल’ भनेको छ। यद्यपि, धेरैजसो उपभोक्ताहरूले यसको ग्राउन्ड क्लियरेन्स, उच्च सवारी उचाइ, फराकिलो इन्टेरियर, लामो ह्वीलबेस, छोटो ओभरह्याङ्ग्स, ठूला झ्याल र प्यानोरामिक ग्लास रुफका कारण यसलाई एसयूभीको रुपमा लिनेछन्।

यो अवधारणाको गाडीमा नयाँ ‘सुपर-ब्रेन’ टेक्नोलोजी, बीएमडब्लुले विकास गरेको सफ्टवेयर भएको नयाँ ड्राइभ तथा चेसिस कन्ट्रोल उपलब्ध हुनेछ। जसले अन्य विद्यमान विद्युतीय सवारी साधनहरूको तुलनामा अझ सहज ड्राइभको ग्यारेन्टी गर्ने कम्पनीको दाबी छ।

बीएमडब्लुको टप-एन्ड नोय क्लास मोडलहरूमा करिब ८०० किलोमिटरको रेन्ज रहेको छ भने ३० मिनेट भन्दा कम समयमै १० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न सकिन्छ।

प्रडक्स भर्सनमा ८००-भोल्ट प्रणालीसहितको नयाँ छैटौँ पुस्ताको ईड्राइभ प्रविधि समावेश हुनेछ जसले चार्जिङको गति ३० प्रतिशतसम्मले सुधार हुनेछ भने रेन्ज पनि ३० प्रतिशतसम्म बढ्नेछ।

बीएमडब्लु भिजन नोय क्लास एक्सको उत्पादन हंगेरीको डेब्रेसेनमा रहेको प्लान्टमा अर्को वर्षदेखि सुरु हुनेछ।