साधारण मुद्दतीको ब्याज घट्यो, संस्थागतको थोरै बढ्यो, बचतको न्यूनतम ब्याज ३ प्रतिशतमा स्थिर



बिजमाण्डू
२०८० फागुन ३० गते ०७:१६ | Mar 13, 2024
साधारण मुद्दतीको ब्याज घट्यो, संस्थागतको थोरै बढ्यो, बचतको न्यूनतम ब्याज ३ प्रतिशतमा स्थिर

काठमाडौं। संस्थागत मुद्दती निक्षेपकर्ताको ब्याज दर साधारणभन्दा एक प्रतिशत बिन्दु मात्र फरक हुनुपर्ने नयाँ व्यवस्थापछि बैंकहरुले मध्यमार्गी बाटो समातेका छन्।

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षाबाट २ प्रतिशत बिन्दु अन्तर राख्नुपर्ने ब्याजलाई एक प्रतिशतमा झारिदिएको थियो। यसले साधारणको यथावत राख्दा संस्थागतको एक प्रतिशत बिन्दुले ब्याज बढ्ने थियो।

तर, अधिक तरलताका कारण साधारण मुद्दतीको ब्याज यथावत राख्ने अवस्था छैन। त्यही कारणले अधिकांश बैंकले मध्यमार्गी बाटो समाउँदै साधारणको थोरै घटाएर त्यति संस्थागतको बढाइदिएर एक प्रतिशत बिन्दुको अन्तर कायम गरेका हुन्।

बैंक तथा वित्तीय संस्थाहरुले नियामकीय प्रावधानअनुसार अर्को महिनाको १ गतेदेखि लागू हुने ब्याज दर अघिल्लो महिनाको मसान्तभित्र सार्वजनिक गरिसक्नु पर्छ। त्यसैले चैत १ गतेबाट लागू हुने ब्याज दर बैंकहरुले फागुन मसान्तमा सार्वजनिक गरेका हुन्।

लक्ष्मी सनराइज, कुमारी, कृषि विकास बैंक, नेपाल बैंकलगायतले संस्थागतको थोरै बढाउँदै सर्वसाधारणको त्यही अनुपातमा घटाएका छन्। प्रभुलगायत बैंकले भने संस्थागतको बढाएर साधारणको यथावत राखेका छन्।

नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा (एसडीएफ) कार्यान्वयनमा ल्याएपछि बैंकहरु बचतको ब्याज ३ प्रतिशतभन्दा तल गएका छैनन्। एसडीएफमा जतिबेलै राष्ट्र बैंकमा पैसा राखेर ३ प्रतिशत ब्याज खान पाइन्छ।