
काठमाडौं। नेसनल मेडिकल कलेज, वीरगन्जका सञ्चालक दाजुभाइ डा. जैनुद्दीन र बसरुद्दीन अन्सारीमाथि कुनै पनि सुरक्षा थ्रेट नभएको निष्कर्ष सुरक्षा निकायले निकालेको छ।
कलेजको सम्पतिसम्बन्धी विवादमा अन्सारी दाजुभाइले जिल्ला प्रशासन कार्यालय पर्सामा एक अर्काका लागि सुरक्षा थ्रेट भएको भन्दै व्यक्तिगत सुरक्षाका लागि पीएसओ माग गरी निवेदन दिएका थिए।
दुवै जनालाई कलेज जान आउन र अन्य पक्षबाट कुनै पनि सुरक्षा थ्रेट नभएको देखिएपछि तत्काल पीएसओ उपलब्ध नगराउने टुंगोमा प्रशासन पुगेको हो।
‘तत्काल कुनै त्यस्तो सुरक्षा थ्रेट देखिएन, आवश्यक परेपछि उपलब्ध गराइने छ, हाल अस्पतालमा पनि प्रहरीको निगरानी बढाएका छौं,’ पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बिजमाण्डूूसँग भने।
कलेजको सम्पत्तिमा दाजुुभाइबीच विवाद भएपछि त्यहाँको अस्पतालमा हडताल समेत भएको थियो। दाइ जैनुद्दीनले भाइको उक्साहटमा हडताल भएको आरोप लगाइरहेका छन्। भाइ बसरुद्दीन भने व्यवस्थापनको अक्षमताका कारण हडताल भएको दाबी गर्छन्।
दाजुुभाइको झगडा चर्किएपछि फागुन ४ गतेदेखि लागू हुने गरी नेसनल मेडिकल कलेजको सञ्चालक समितिमा हेरफेर भएको सूचना जारी गरियो। नयाँ सञ्चालक समितिमा दाजुु जैनुद्दीन अन्सारी अध्यक्ष, उनका छोरा शाहनवाज प्रबन्ध निर्देशक र छोरी नुशरत जहाँ सदस्य कायम गरिए।
यो निर्णयपश्चात् बसरूद्दीन अल्पमतका सेयर लगानीकर्तामा सीमित हुन पुगे। यसपछि आरोप–प्रत्यारोपको सिलसिला तीव्र भयो। नयाँ सञ्चालक समितिले पत्रकार सम्मेलन नै गरेर १० प्रतिशत सेयरबाहेक बसरूद्दीनको कानुनी रूपमा अरु केही नरहेको बतायो।
त्यसपछि बसरूद्दीनले कागजमा जे लेखिए पनि आफ्नो ५० प्रतिशत हिस्सेदारी रहेको दाबी गर्दै आइरहेका छन्। यसैको प्रभावमा त्यहाँको शिक्षण अस्पतालका सबै सेवा अवरुद्ध भए।
’अस्पताल बन्द गर्न पाइँदैन, त्यहाँ जान आउन तपाइँहरूलाई कुनै सुरक्षा थ्रेट छैन, तत्काल अस्पताल खोलेर तपाइहरूको विवाद मिलाउनुहोस् भनेका थियौं,’ प्रजिअ भुसालले भने।
अघिल्लो साता जिल्ला प्रशासन कार्यालयमा पाँच घण्टासम्म उनीहरुलाई राखेर छलफल भएको थियो। त्यसपछि अस्पतालको सेवा त सुुचारु भयो, तर दाजुभाइबीचको विवाद र मनमुुटाव कायमै छ।
आन्तरिक विवाद मिलाएर मंगलबार (फागुन २२ गते) दुवै जनालाई आउन भनिएको थियो। भाइ बसुरुद्दीन मंगलबार पुगे तर दाइ जैनुद्दीनले भने काठमाडौंमा भएकाले आउन नसक्ने जानकारी प्रजिअलाई दिए। त्यसपछि विवाद मिलाएर दुवैलाई अनुुकूूल समयमा आउन भनिएको छ।